Dhulikhel Eco Banner new

उदयपुरमा छुट्टाछुट्टै स्थानबाट एक टनभन्दा बढी गाँजा बरामद, युवक पक्राउ

637
shares

काठमाडौं, २६ असोज । उदयपुरमा प्रहरीले एक हजार ४० किलोभन्दा बढी गाँजा बरामद गरेको छ । गाँजा ओसारपसारमा संलग्न रहेको आरोपमा एक युवक पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार जिल्लाका दुई छुट्टाछुट्टै स्थानमा गरिएको कारबाहीका क्रममा ठूलो परिमाणमा गाँजा फेला परेको हो ।

सोमबार बिहान चौदण्डीगढी नगरपालिका–१ चारघरेस्थित रानीटार–बेल्टार सडकखण्डमा पार्किङ गरी राखिएको बोलेरो गाडीबाट ९४० किलो ४४० ग्राम गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ । उक्त गाडीमा २९ वटा बोरामा गाँजा राखिएको थियो । गाँजासहित बोलेरो गाडी नियन्त्रणमा लिइए पनि त्यसमा संलग्न व्यक्ति भने फेला परेका छैनन् ।

त्यस्तै, कटारी नगरपालिका–६ स्थित सागुरी पुलनजिकैको जंगलबाट प्रहरीले १०० किलो गाँजासहित एक युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ताप्ली गाउँपालिका–२ का २२ वर्षीय विश्वराज राई रहेका छन् । उनलाई तिनतलेबाट सिराहातर्फ गाँजा लैजाँदै गरेको अवस्थामा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दुवै घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी भइरहेको छ । पक्राउ परेका युवकलाई इलाका प्रहरी कार्यालय कटारीमा राखेर थप अनुसन्धान अघि बढाइएको छ ।

प्रहरीले लागूऔषध ओसारपसारमा संलग्न व्यक्तिहरूको पहिचान तथा सञ्जालबारे अनुसन्धान गरिरहेको जनाएको छ ।