Dhulikhel Eco Banner new

चाडपर्वमा सडक सुरक्षामा कडाइ गर्दै ट्राफिक प्रहरी, मुख्य नाकामा निगरानी बढाइयो

572
shares

काठमाडौं, २६ असोज ।  दसैँ, तिहारलगायतका चाडपर्व नजिकिएसँगै काठमाडौं उपत्यका ट्राफिक प्रहरीले सडक सुरक्षा र दुर्घटना न्यूनीकरणका लागि सचेतना अभियान तीव्र बनाएको छ ।

चाडपर्वका बेला यात्रुको चाप बढ्ने भएकाले ट्राफिक प्रहरीले नयाँ बसपार्क, नागढुंगा र कोटेश्वरलगायतका क्षेत्रमा निगरानी बढाएको हो ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार सार्वजनिक सवारीसाधनका चालक तथा यात्रुलाई सुरक्षित यात्राबारे जानकारी दिनुका साथै विभिन्न स्थानमा सचेतनामूलक कार्यक्रम सञ्चालन भइरहेको छ ।

अभियानअन्तर्गत सार्वजनिक सवारीसाधनको यान्त्रिक अवस्था परीक्षण, चालकले मादक पदार्थ सेवन गरे नगरेको जाँच तथा ट्राफिक नियमको पालना भए नभएको निगरानीलाई प्राथमिकता दिइएको छ ।

ट्राफिक प्रहरीले माइकिङमार्फत यात्रु र चालकलाई सचेत गराउनुका साथै सवारीसाधन चलाउँदा तीव्र गति नअपनाउन, क्षमताभन्दा बढी यात्रु नराख्न र ट्राफिक सङ्केतको पालना गर्न आग्रह गरेको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेका अनुसार चाडपर्वमा हुन सक्ने दुर्घटना न्यूनीकरण गरी यात्रुलाई सुरक्षित रूपमा गन्तव्यसम्म पुर्‍याउनु अभियानको मुख्य उद्देश्य हो ।

लामो दूरीको यात्रा गर्दा चालकले थकान महसुस भएमा विश्राम लिन र यात्रुले पनि सवारीसाधन चढ्दा तथा ओर्लँदा सावधानी अपनाउन प्रहरीले अनुरोध गरेको छ ।

चाडपर्वलाई सुरक्षित र व्यवस्थित बनाउन प्रहरीको निगरानीसँगै चालक, यात्रु तथा सर्वसाधारणको जिम्मेवार व्यवहार पनि आवश्यक रहेको ट्राफिक प्रहरीले जनाएको छ ।