बाढीले पदमार्ग बगाएपछि चुम उपत्यकामा पर्यटक रोकिए, उद्धारका लागि हेलिकोप्टर परिचालन
वि.सं.२०८३ असोज २६ सोमवार १५:१३
shares

काठमाडौं, २६ असोज । गोरखाको चुम उपत्यका भ्रमणमा पुगेका पर्यटक बुढीगण्डकी नदीमा आएको बाढीका कारण बाटोमै रोकिएका छन् । बाढीले पदमार्ग र पुलमा क्षति पुर्याएपछि पर्यटकलाई गन्तव्यसम्म पुग्न तथा फर्किन समस्या भएको हो ।
आइतबार बिहान आएको बाढीले उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाका विभिन्न स्थानमा रहेका पुल तथा पैदलमार्ग बगाएको छ । यसका कारण मनास्लु र चुम भ्याली क्षेत्रमा पदयात्रा प्रभावित भएको छ ।
मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप) का अनुसार चुम उपत्यकामा ८० जनाभन्दा बढी पर्यटक रहेका छन् । उनीहरूलाई सुरक्षित स्थानमा राखिएको छ भने उद्धार तथा आवागमन सहज बनाउने प्रयास भइरहेको छ ।
स्थानीय पर्यटन व्यवसायीका अनुसार बाटो अवरुद्ध भएपछि कतिपय पर्यटक अन्योलमा परेका छन् । केही पर्यटकको उद्धार सोमबार बिहानदेखि नेपाली सेनाको हेलिकोप्टरमार्फत भइरहेको छ ।
बाढीका कारण मनास्लु संरक्षण क्षेत्रको प्रवेशमार्ग मानिने चुमनुब्री गाउँपालिका–३ जगतमा पनि १०० भन्दा बढी विदेशी पर्यटक रोकिएका छन् । त्यस्तै, लोक्पालगायतका क्षेत्रमा समेत पर्यटक उद्धारको प्रतीक्षामा रहेका छन् ।
पर्यटक, पथप्रदर्शक र भरियालाई सुरक्षित रूपमा गन्तव्यसम्म पुर्याउन स्थानीय तह, सुरक्षा निकाय तथा पर्यटनसम्बन्धी संस्थाबीच समन्वय भइरहेको छ ।
बाढीले पुल र पदमार्गमा क्षति पुर्याएपछि स्थानीयको आवतजावत र दैनिक जनजीवनसमेत प्रभावित बनेको छ । पहाडी क्षेत्रमा आएको बाढीले मुख्य पर्यटकीय याममै पदयात्रा प्रभावित हुँदा पर्यटन व्यवसायमा समेत असर पर्ने देखिएको छ ।
सम्बन्धित निकायले प्रभावित क्षेत्रमा रहेका पर्यटकको अवस्था बुझ्ने, आवश्यक उद्धार गर्ने र सुरक्षित आवागमनको व्यवस्था मिलाउने काम गरिरहेका छन् ।


















