सरकारी गाडी दुरुपयोग गरेको आरोपमा काभ्रेमा एक जना पक्राउ
वि.सं.२०८३ असोज २७ मंगलवार १४:३८
shares
pakrau
काठमाडौं ,२७ असोज । सार्वजनिक बिदाको दिन सरकारी सवारीसाधन दुरुपयोग गरी सर्वसाधारणसँग अभद्र व्यवहार गरेको आरोपमा काभ्रेपलाञ्चोकमा एक जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–३, कुशादेवीका ४० वर्षीय गणेश सापकोटा रहेका छन्।
प्रहरीका अनुसार असोज २४ गते शनिबार सार्वजनिक बिदाका दिन सरकारी सवारीसाधन प्रयोग गरी सार्वजनिक स्थानमा सर्वसाधारणसँग विवाद गरेको तथा अभद्र व्यवहार गरेको आरोप उनीमाथि लागेको छ।
सामाजिक सञ्जालमा घटनासम्बन्धी भिडियो सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो। सोही क्रममा सापकोटालाई असोज २५ गते पक्राउ गरिएको हो।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका सूचना अधिकारी रबिन विष्टका अनुसार पक्राउ परेका सापकोटालाई जिल्ला प्रशासन कार्यालयमा उपस्थित गराइएको थियो। प्रशासनबाट तीन दिनको म्याद थप अनुमति लिएपछि उनलाई इलाका प्रहरी कार्यालय बनेपाको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको छ।
प्रहरीले सापकोटामाथि अभद्र व्यवहारसम्बन्धी कसुरमा कारबाही प्रक्रिया अघि बढाउने जनाएको छ।
सरकारी सवारीसाधन सार्वजनिक स्रोत भएकाले यसको प्रयोग प्रचलित नियम र निर्धारित प्रयोजनअनुसार हुनुपर्ने विषयमा यस घटनाले पुनः ध्यानाकर्षण गराएको छ।
















