Dhulikhel Eco Banner new

उपत्यकामा ग्यासको सहज आपूर्ति सुरु, अब डिलरमार्फत नै ग्यास खरिद गर्न आग्रह

767
shares

काठमाडौं, २७ असोज । नेपाल एलपी ग्यास उद्योग सङ्घले काठमाडौँ उपत्यकामा एलपी ग्यासको वितरण प्रणालीलाई पुनः नियमित बनाएको छ ।
चाडपर्वको समयमा उपभोक्ताले ग्यास पाउन गरेको कठिनाइ र एक ब्राण्डको सिलिण्डर अर्कोसँग साट्न नपाएको गुनासोलाई सम्बोधन गर्न गरिएको विशेष व्यवस्थालाई हटाउँदै सङ्घले अब पूर्ववत् रूपमा डिलरमार्फत नै ग्यास वितरण गर्ने निर्णय गरेको हो ।

यसअघि उपभोक्ताको सहजताका लागि भन्दै असोज २५ गते आइतबारदेखि असोज ३० गते शुक्रबारसम्मका लागि विभिन्न ब्राण्डका ग्यास सिलिण्डरहरू संयुक्त रूपमा बिक्री वितरण गर्ने व्यवस्था मिलाइएको थियो ।

यद्यपि, बिहीबार र शुक्रबार डिलरमार्फत नियमित ग्यास आपूर्ति गर्नुपर्ने भएकाले उक्त संयुक्त व्यवस्था असोज २८ गते बुधबारसम्म मात्र लागू हुने सङ्घले जनाएको छ ।

सङ्घले उपभोक्तालाई पर्न गएको असुविधाप्रति क्षमा माग्दै अब उप्रान्त आफ्नो नजिकको आधिकारिक डिलरमा गएर नियमित रूपमा ग्यास खरिद गर्न आम उपभोक्ता तथा सरोकारवालाहरूलाई अनुरोध गरेको छ ।
सङ्घका अध्यक्ष दिवान चन्दद्वारा जारी विज्ञप्तिमा नेपाल आयल निगम लिमिटेडमार्फत भारतका विभिन्न रिफाइनरीहरूबाट एल।पी। ग्यासको आयात सहज रूपमा भइरहेको उल्लेख छ ।
सङ्घका अनुसार, २०८३ भदौ महिनामा मात्रै काठमाडौँ उपत्यकामा ४ लाख १३ हजार ६ सय ६१ सिलिण्डर ग्यास बिक्री वितरण भएको जनाएको छ।