होटलमा बासी खाना खुवाए कडा कारबाही हुने
वि.सं.२०८३ असोज २७ मंगलवार १६:११
shares

काठमाडौं, २७ असोज । सार्वजनिक यातायातका यात्रुलाई लक्षित गरी राजमार्गका होटल तथा रेष्टुरेन्टहरुले बासी, सडेगलेको र महँगो खाना खुवाउने गरेको व्यापक गुनासो बढेपछि सरकारले कारबाही गर्ने चेतावनी दिएको छ ।
यातायात व्यवस्था विभागले सार्वजनिक सवारी चालक, होटलररेस्टुरेन्ट व्यवसायी र यात्रुहरूका नाममा एक सूचना जारी गर्दै यात्रुलाई अखाद्य खाना खुवाएर बिरामी पारेमा होटल सञ्चालकका साथै सवारी चालकलाई समेत कडा कारबाही गर्ने जनाएको छ ।
विभागका अनुसार, यात्रुवाहक सवारी साधन रोकिने होटल तथा रेस्टुरेन्टहरूमा सरसफाइको कमी भएको, बासी र झिँगा भन्केका न्यून गुणस्तरको खाना दिने गरेको र अत्यधिक मूल्य असुल्ने गरेको गुनासो आएपछि पूर्वाधार विकास मन्त्रालयमा सरोकारवाला निकायहरूको बैठक बसेको थियो। सोही बैठकको निर्णयानुसार विभागले यो सूचना जारी गरेको हो ।
मंगलबार विभागका निर्देशक मणिराम भुसालद्वारा जारी सूचनामा सार्वजनिक सवारीका चालकलाई सफा, स्वच्छ र गुणस्तरीय खाना पाउने स्थानमा मात्रै गाडी रोक्न कडा निर्देशन दिइएको छ । चालकहरूलाई सम्भव भएसम्म खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट ‘खाद्य स्वच्छताको स्टिकर’ टाँसिएका होटल तथा रेस्टुरेन्टहरूलाई उच्च प्राथमिकता दिन भनिएको छ ।
हाल सम्बन्धित निकायहरूले राजमार्गका होटलहरुको सूक्ष्म निगरानी गरिरहेको जनाएको छ । विभागले विज्ञप्तिमार्फत भनेको छ, ‘यदि होटलररेस्टुरेन्टमा उपलब्ध गराइएको खाजा, नास्ता र खानाको कारणले यात्रुहरू बिरामी भएको पाइएमा सम्बन्धित सवारी चालक र होटलररेस्टुरेन्ट सञ्चालकलाई प्रचलित कानुन बमोजिम कडा कारबाही हुनेछ ।’
विभागले खानाको गुणस्तरमा कमी पाइएमा वा मूल्यमा ठगी भएको महसुस भएमा नजिकैको निकायमा उजुरी गर्न सम्पूर्ण यात्रुहरूलाई अनुरोध गरेको छ ।
कुनै पनि होटल तथा रेस्टुरेन्टमा ठगी भएको वा अस्वच्छ खाना दिइएको पाइएमा यात्रुले तत्काल नेपाल प्रहरीको टोल–फ्री हेल्पलाइन नम्बर १०० मा फोन गरी जानकारी गराउन सक्नेछन्।
यसका अलावा सम्बन्धित जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालय वा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र सो अन्तर्गतका नजिकका कार्यालयहरूमा सम्पर्क गरेर समेत उजुरी दिन सकिने विभागले जनाएको छ।
















