Dhulikhel Eco Banner new

बाढीपीडितलाई राष्ट्र बैंकको राहत: ऋणको किस्ता तिर्ने म्याद पुससम्म लम्बियो

442
shares

भोटेकोशी र बूढीगण्डकीमा आएको बाढीका कारण मर्कामा परेका व्यवसायी तथा ऋणीले बैंकको किस्ता तिर्न थप तीन महिनाको समय पाएका छन् । नेपाल राष्ट्र बैंकले प्राकृतिक प्रकोपबाट प्रभावितहरूको वित्तीय समस्यालाई मध्यनजर गर्दै असोज मसान्तभित्र बुझाउनुपर्ने साँवा र ब्याजको म्याद पुस मसान्तसम्मका लागि लम्ब्याएको हो ।

केन्द्रीय बैंकको यो सहुलियत विशेषगरी भदौ १० मा रसुवाको भोटेकोशी र हालै गोरखाको बूढीगण्डकी क्षेत्रमा आएको बाढीबाट क्षति व्यहोरेका परियोजना तथा उद्यमहरूले पाउनेछन् । साथै, बाढीकै कारण रसुवा भन्सार नाका अवरुद्ध हुँदा कच्चा पदार्थ तथा तयारी वस्तुको आयात–निर्यात रोकिन गई व्यापार ठप्प भएका ऋणीहरूलाई पनि यसले ठूलो राहत दिनेछ ।

यद्यपि, यो सुविधा प्रभावित क्षेत्रका सबै ऋणीले स्वतः पाउने छैनन् । बैंक तथा वित्तीय संस्थाहरूले ऋणीको वर्तमान आम्दानी, नगद प्रवाह, मौज्दात र व्यवसायमा परेको वास्तविक क्षतिको सूक्ष्म मूल्यांकन गर्नुपर्नेछ । उक्त विश्लेषणबाट ऋणीले साँच्चिकै किस्ता तिर्न नसक्ने अवस्था देखिएमा मात्र राष्ट्र बैंक ऐन, २०५८ को दफा ७९ बमोजिम म्याद थप गरिने केन्द्रीय बैंकले प्रष्ट पारेको छ ।