नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजाआराधना, शक्तिपीठहरूमा भक्तजनको भीड
वि.सं.२०८३ असोज २८ बुधवार ०९:०९
325
shares
shares

बडादसैँअन्तर्गत नवरात्रको चौथो दिन आज दसैँ घर तथा पूजा कोठाहरूमा नवदुर्गामध्येकी चौथो रूप कुष्माण्डा देवीको विधिपूर्वक पूजाआराधना गरिँदै छ । वैदिक सनातन हिन्दु परम्पराअनुसार आश्विन शुक्ल चतुर्थीका दिन आध्यात्मिक, आधिभौतिक र आधिदैविक गरी तीनै प्रकारका ताप (दुःख) निवारण गर्ने देवीका रूपमा कुष्माण्डाको विशेष आराधना गर्ने धार्मिक मान्यता छ ।
गत असोज २५ गते आइतबार घटस्थापना गरी सुरु भएको यस वर्षको नवरात्रमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी र तेस्रो दिन चन्द्रघण्टा देवीको आह्वानसहित पूजा गरिएको थियो । नवरात्रका नौ दिनसम्म घटस्थापना गरिएको स्थलमा चण्डी (दुर्गा सप्तशती) र देवीभागवत पाठ गर्नाले शक्ति, विद्या र ऐश्वर्य प्राप्त हुने जनविश्वास रहिआएको छ । नवदुर्गाका नौवटै रूपको पूजा आराधना गर्दै घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म कुल १५ दिन नेपालीले यो पर्व हर्षाेल्लासका साथ मनाउँछन् ।
कुष्माण्डा पूजाको अवसरमा आज राजधानीका गुह्येश्वरी, मैतीदेवी, नक्साल भगवती, भद्रकाली, कलङ्कीमाई, बज्रयोगिनीलगायतका प्रसिद्ध मन्दिरहरूमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ । यसैगरी उपत्यकाबाहिरका पलाञ्चोक भगवती, मनकामना, बागलुङ कालिका, विन्ध्यवासिनी, गढीमाई, उग्रतारालगायतका शक्तिपीठहरूमा पनि देवीको दर्शन तथा पूजाआजा गर्ने भक्तजनको ठूलो उपस्थिति रहेको छ ।


















