Dhulikhel Eco Banner new

कोशीटप्पु नजिकै मृत भेटिए ‘सानो दारे’

364
shares

काठमाडौँ, २८ असोज । उदयपुरको बेलका नगरपालिका–१ स्थित धानखेतमा ‘सानो दारे’ नामले चिनिने वयस्क जङ्गली भाले हात्ती मृत अवस्थामा फेला परेको छ। करिब २० देखि २५ वर्ष उमेरको उक्त हात्ती मंगलबार मृत भेटिएको हो।

डिभिजन वन कार्यालय उदयपुरका प्रमुख गजेन्द्र श्रेष्ठका अनुसार हात्ती कोशीटप्पु वन्यजन्तु आरक्षबाट करिब एक किलोमिटर दूरीमा रहेको धानखेतमा मृत फेला परेको हो। उक्त हात्ती एक वर्षभन्दा बढी समयदेखि कोशीटप्पु आरक्ष क्षेत्र आसपास बस्दै आएको बताइएको छ।

प्रारम्भिक अनुमानअनुसार हात्तीको मृत्यु प्राकृतिक कारणले भएको हुन सक्ने आशङ्का गरिएको छ। यद्यपि, मृत्युको वास्तविक कारण भने पोस्टमार्टम परीक्षणपछि मात्रै खुल्नेछ।

आरक्षको सीमावर्ती क्षेत्रमा हात्ती मृत भेटिएपछि कोशीटप्पु वन्यजन्तु आरक्षले शव परीक्षण गर्ने तयारी गरेको जनाइएको छ।

हात्तीको मृत्युको कारणबारे थप विवरण परीक्षणको नतिजापछि मात्र स्पष्ट हुने भएकाले अहिले नै मृत्युको निश्चित कारणबारे निष्कर्ष निकाल्न सकिने अवस्था छैन।