लाभांशको सूचना ढिलो दिएपछि विन्ध्यवासिनी हाइड्रोपावरको शेयर कारोबार रोक्का
वि.सं.२०८३ असोज २८ बुधवार १३:००
shares

काठमाडौँ, २८ असोज । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले समयमै सूचना नदिएको भन्दै विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको शेयर कारोबार रोक्का गरेको छ। नेप्सेले कम्पनीलाई सूचना ढिलो दिनुको कारण खुलाउँदै तीन कार्यदिनभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ।
कम्पनीको सञ्चालक समितिको बैठक २०८३ असोज २६ गते बसेको थियो। बैठकले वार्षिक साधारणसभा, शेयरधनीलाई लाभांश वितरण र बुक क्लोजको मिति तय गर्ने निर्णय गरेको थियो।
तर, कम्पनीले उक्त निर्णयबारे नेप्सेको अनलाइन सूचना प्रणालीमा असोज २७ गते साँझ ५ बजेर ५९ मिनेटमा मात्रै जानकारी गराएको थियो।
धितोपत्र सूचीकरण विनियमावली, २०७५ अनुसार शेयरको मूल्यमा प्रभाव पार्न सक्ने सूचना वा निर्णय सोही दिन वा अर्को कारोबार दिन सुरु हुनुअघि नेप्सेलाई उपलब्ध गराउनुपर्छ। यही व्यवस्था पालना नगरेको भन्दै नेप्सेले असोज २८ गते कम्पनीको शेयर कारोबार स्थगित गर्ने निर्णय गरेको हो।
नेप्सेले कम्पनीलाई पत्र प्राप्त भएको मितिले तीन कार्यदिनभित्र सूचना ढिलो दिनुको कारण स्पष्ट पार्न भनेको छ।
यसैबीच, विन्धवासिनी हाइड्रोपावरले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट शेयरधनीलाई ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ। उक्त लाभांश सम्बन्धित निकायको स्वीकृति र वार्षिक साधारणसभाबाट पारित भएपछि वितरण हुनेछ।
कम्पनीको दशौँ वार्षिक साधारणसभा २०८३ कात्तिक १८ गते काठमाडौंको शंखमूलस्थित अनमोल ब्याङ्क्वेटमा बिहान साढे ९ बजे बस्ने तय भएको छ। साधारणसभा र प्रस्तावित लाभांशका लागि कम्पनीले कात्तिक १० गते बुक क्लोज गर्ने जनाएको छ।
अब कम्पनीले नेप्सेलाई दिने स्पष्टीकरण र त्यसपछि हुने निर्णयले शेयर कारोबार पुनः कहिले सुरु हुन्छ भन्ने विषय स्पष्ट पार्नेछ।


















