१३ वटा वाणिज्य बैंकको नाफा बढ्यो, हिमालयनको लोभलाग्दो वृद्धि
वि.सं.२०८३ असोज २८ बुधवार १३:०६
shares

काठमाडौँ, २८ असोज । चालु आर्थिक वर्षको दुई महिना(साउन र भदौ) मा वाणिज्य बैंकहरुको खुद नाफा ७.३२ प्रतिशतले वृद्धि भएको छ । यस अवधिमा २० वटा वाणिज्य बैंकले १७ अर्ब ८१ करोड रुपैयाँ खुद नाफा आर्ज नगरेका छन् । गत आवको सोही अवधिमा १६ अर्ब ५९ करोड रुपैयाँ नाफा आर्जन गरेका थिए ।
चालु आवको साउन र भदौमा १३ वटा वाणिज्य बैंकको नाफा वृद्धि हुँदा ७ वटाको नाफा घटेको छ । नाफा वृद्धि हुनेमा हिमालयन बैंक अग्रस्थानमा रहेको छ । हिमालयन बैंकको नाफा ५५.१३ प्रतिशतले बढेको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाउँछ ।
यस अवधिमा हिमालयनको खुद नाफा ५७ करोड ५१ लाख रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा ३७ करोड ७ लाख रुपैयाँ नाफा थियो । यस्तै, सानीमा बैंकको नाफा ४२.१५ प्रतिशतले बढेको छ । चालु आवको २ महिनामा सानीमाले १ अर्ब २ करोड ५६ लाख रुपैयाँ नाफा कमाएको छ । गत वर्षको सोही अवधिमा ७२ करोड १५ लाख रुपैयाँ नाफा कमाएको थियो ।
नबिल बैंकको नाफा ३५.८३ प्रतिशतले बढेको १ अर्ब ८० करोड २६ लाख रुपैयाँ पुगेको छ । गत वर्ष नबिलले १ अर्ब ३२ करोड ७१ लाख रुपैयाँ नाफा कमाएको थियो । राष्ट्रिय वाणिज्य बैंकको नाफा २५.३१ प्रतिशतले, नेपाल एसबीआई बैंकको नाफा १७.३२, प्रभु बैंकको नाफा १०.१३, प्राइम कमर्सियल बैंकको ९, माछापुच्छ्रे बैंकको ८.१८, एभरेष्ट बैंकको ७.८८, ग्लोबल आइएमई बैंको ४, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ०.९१, एनआईसी एशिया बैंकको ०.७९ र एनएमबी बैंकको नाफा ०.१३ प्रतिशतले बढेको छ ।
धेरै नाफा आर्जन गर्नेमा नबिल अगाडि
यस अवधिमा सबैभन्दा धेरै नाफा नबिलले आर्जन गरेको छ । दोस्रो नम्बरमा ग्लोबल आईएमई रहेको छ । तोस्रोमा नेपाल इन्भेष्टमेन्ट मेगा, चौथामा प्राइम कमर्सियल र पाँचौमा राष्ट्रिय वाणिज्य बैंक रहेको छ ।


















