Dhulikhel Eco Banner new

राजमार्गका होटलमा मूल्यसूची र बिल अनिवार्य, नियम मिचे कारबाही हुने

442
shares

काठमाडौं, ३० असोज। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले देशभरका राजमार्ग तथा आसपासमा सञ्चालित होटल, रेस्टुरेन्ट र खाजा घरलाई मूल्यसूची अनिवार्य रूपमा राख्न र प्रत्येक ग्राहकलाई बिल दिन निर्देशन दिएको छ।

विभागले असोज २९ गते सार्वजनिक सूचना जारी गर्दै उपभोक्ताबाट प्राप्त गुनासोलाई सम्बोधन गर्न व्यवसायीलाई खाना, खाजा तथा पेय पदार्थको मूल्य स्पष्ट देखिने स्थानमा राख्न भनेको हो। बिक्री भएका वस्तु तथा सेवाको वास्तविक कारोबार मूल्य खुल्ने गरी बिल वा बिजक उपलब्ध गराउनुपर्नेछ।

त्यस्तै, खाद्यवस्तुको तयारी, भण्डारण र बिक्री वितरणमा स्वच्छता तथा गुणस्तर कायम गर्न, भान्सा, भोजन कक्ष, भाँडाकुँडा, खानेपानी र शौचालय सफा राख्न विभागले निर्देशन दिएको छ। म्याद गुज्रिएका, दूषित तथा खान अयोग्य खाद्यवस्तु बिक्री गर्नसमेत निषेध गरिएको छ।

विभागले उपभोक्तालाई उचित मूल्यमा सुरक्षित र गुणस्तरीय सेवा उपलब्ध गराउन व्यवसायीलाई आग्रह गर्दै अनुगमनका क्रममा प्रचलित कानुन तथा उपभोक्ता हित संरक्षणसम्बन्धी व्यवस्था उल्लङ्घन गरेको पाइएमा कानुनबमोजिम कारबाही हुने जनाएको छ।

यस निर्देशनले लामो दूरीको यात्रा गर्ने यात्रुलाई खाद्यवस्तुको मूल्यबारे स्पष्ट जानकारी पाउन र आफूले गरेको खर्चको प्रमाणका रूपमा बिल प्राप्त गर्न सहज हुने अपेक्षा गरिएको छ।