Dhulikhel Eco Banner new

चितवन निकुञ्ज घुम्न अब अनलाइनबाटै टिकट, क्यूआर कोड देखाएर प्रवेश गर्न सकिने

455
shares

काठमाडौं, ३० असोज। चितवन राष्ट्रिय निकुञ्ज घुम्न जाने पर्यटकका लागि अनलाइन टिकट सेवा सुरु गरिएको छ। निकुञ्जले असोज २९ गतेदेखि परीक्षणका रूपमा सौराहा प्रवेश बिन्दुबाट ई–टिकटिङ सेवा सञ्चालनमा ल्याएको हो।

निकुञ्जका प्रमुख वरिष्ठ संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनका अनुसार नयाँ व्यवस्थाअन्तर्गत पर्यटकले अनलाइनबाटै आवश्यक विवरण भरेर प्रवेश शुल्क भुक्तानी गर्न सक्नेछन्। टिकट प्रक्रिया पूरा भएपछि प्राप्त हुने क्यूआर कोड देखाएर निकुञ्ज प्रवेश गर्न सकिनेछ। टिकट एक दिनका लागि मात्र मान्य हुनेछ।

निकुञ्ज प्रवेश गर्ने विभिन्न नाकामध्ये सौराहाबाट ८० प्रतिशतभन्दा बढी पर्यटक आउने भएकाले पहिलो चरणमा यहीँबाट सेवा सुरु गरिएको हो। परीक्षणको प्रभावकारिता हेरेर अन्य प्रवेश नाकामा समेत अनलाइन टिकट प्रणाली विस्तार गर्ने निकुञ्जको योजना छ।

यसअघि टिकट लिन पर्यटक तथा पर्यटन व्यवसायीले नगदसहित प्रवेश पोष्टमै पुग्नुपर्ने बाध्यता थियो। नयाँ प्रणालीले टिकट काट्न लाग्ने समय र भीडभाड घटाउनुका साथै पर्यटकको विवरण व्यवस्थित राख्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

निकुञ्जको तथ्यांकअनुसार आर्थिक वर्ष २०८२/८३ मा कुल २ लाख ७२ हजार ९२३ पर्यटकले चितवन राष्ट्रिय निकुञ्ज भ्रमण गरेका थिए। तीमध्ये २ लाख ३७ हजार २५ जना सौराहा नाकाबाट प्रवेश गरेका थिए।

ई–टिकटिङ सेवा सुरु गर्ने चितवन राष्ट्रिय निकुञ्ज नेपालको दोस्रो निकुञ्ज बनेको छ। यसअघि शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा पनि अनलाइन टिकटको व्यवस्था सुरु भइसकेको छ।