Dhulikhel Eco Banner new

चाडपर्वमा उपत्यकाको सुरक्षा घेराबन्दी कडा, ८ हजारभन्दा बढी प्रहरी परिचालन

702
shares

काठमाडौं, ३० असोज। दसैँ, तिहार तथा छठ पर्वलाई सुरक्षित बनाउन काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा प्रहरीले सुरक्षा निगरानी बढाएको छ।

चाडपर्वका बेला हुने चोरी, लुटपाट, पाकेटमारी, ठगी, अनलाइन अपराध, कालोबजारी तथा सवारी दुर्घटना नियन्त्रण गर्ने उद्देश्यले उपत्यकामा ८ हजार १५ जना प्रहरी परिचालन गर्ने गरी विशेष सुरक्षा योजना लागू गरिएको हो।

काठमाडौं उपत्यका प्रहरी कार्यालयका डीआईजी गोविन्द थपलियाका अनुसार फूलपातीदेखि छठ पर्वसम्म लागू हुने योजनाअन्तर्गत मुख्य बजार, व्यापारिक केन्द्र, बसपार्क, बैंक तथा वित्तीय संस्था र उपत्यका प्रवेश गर्ने नाकामा निगरानी कडा पारिएको छ।

थानकोट, साँगा, फर्पिङ, मुड्खु, टोखा, जर्सिङपौवा र भट्टेडाँडालगायतका नाकामा सादा पोसाकका प्रहरीसँगै तालिमप्राप्त कुकुर प्रयोग गरी जाँच भइरहेको छ। भीडभाड हुने बजार क्षेत्रमा ड्रोनबाट निगरानी गर्ने, सम्भावित चोरी तथा पाकेटमारी हुने स्थानमा माइकिङ गर्ने र रातिको समयमा समेत प्रहरी गस्ती बढाउने व्यवस्था मिलाइएको छ।

यात्रुलाई सहज रूपमा सेवा उपलब्ध गराउन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित उपत्यकाका ३७ स्थानमा नागरिक सहायता कक्ष स्थापना गरिएको छ। काठमाडौं जिल्लामा मात्रै ३ हजार ५०६ जना प्रहरी परिचालन गरिएको छ भने नयाँ बसपार्कमा टिकटको कालोबजारी र यात्रुलाई हुने हैरानी नियन्त्रण गर्न नियमित ड्युटीबाहेक थप ३० जना प्रहरी खटाइएको छ।

प्रहरीले चाडपर्वको सुरक्षा योजनाअन्तर्गत रातिको समयमा शंकास्पद गतिविधि गर्ने व्यक्तिमाथि निगरानी बढाउँदै स्विप अपरेसनसमेत सञ्चालन गरेको छ। प्रहरीका अनुसार रातिको समयमा शंकास्पद रूपमा हिँडडुल गरेका ३४१ जनालाई नियन्त्रणमा लिएर जाँच गरिएको छ। तीमध्ये १२ जनाको विवरण प्रहरीको आपराधिक अभिलेख प्रणालीसँग मेल खाएपछि थप अनुसन्धान अघि बढाइएको छ।

त्यस्तै, उपत्यकाका विभिन्न स्थानबाट फलामका रडसहित भेटिएका सात जनामाथि पनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

बैंक, वित्तीय संस्था तथा सुनचाँदी कारोबार हुने स्थानमा सीसीटीभीमार्फत चौबीसै घण्टा निगरानी राखिएको छ। प्रहरीले घर लामो समय खाली छाडेर बाहिर जाँदा ढोका–झ्याल सुरक्षित राख्न, अपरिचित व्यक्तिलाई बैंकिङ विवरण नदिन, अनलाइनमा आउने शंकास्पद उपहार तथा पुरस्कारका सन्देशमा विश्वास नगर्न र मादक पदार्थ सेवन गरेर सवारी नचलाउन सर्वसाधारणलाई आग्रह गरेको छ।

चाडपर्वको समयमा नागरिकको आवागमन र आर्थिक कारोबार बढ्ने भएकाले सुरक्षा व्यवस्था प्रभावकारी बनाउन प्रहरीसँगै सर्वसाधारणको सतर्कता र सहयोग पनि उत्तिकै आवश्यक रहेको प्रहरीले जनाएको छ।