Dhulikhel Eco Banner new

नेप्सेमा खुम्चिएको कारोबारले बढायो संशयः अब कुन दिशा तय गर्ला बजार ?

403
shares

साताको दोस्रो कारोबार दिन मंगलबार शेयर बजारमा देखिएको अन्तिम प्रहरको खरिद चापले लगानीकर्तामा आशा जगाएको छ। दिनभरको अधिकांश समय घटेर रातो भएको बजार, बन्द हुने बेलामा बाउन्स ब्याक हुँदै सकारात्मक बनेपछि यसले आजको बजारका लागि सुखद मनोवैज्ञानिक आधार तयार पारेको छ। यद्यपि, परिसूचक उकालो लागे पनि कारोबार रकममा आएको संकुचनले बजार अझै ‘पर्ख र हेर’ कै अवस्थामा रहेको प्रस्ट्याउँछ।

मंगलबार नेप्से परिसूचक ६.६२ अंकले बढेर २६६४.१३ विन्दुमा पुगेर अडेको छ। समग्र बजारलाई प्रतिनिधित्व गर्ने नेप्सेसँगै ठूला कम्पनीको मापन गर्ने सेन्सेटिभ र फ्लोट सूचकहरूमा पनि सामान्य अंकको बढोत्तरी देखियो। तर, सोमबार साढे ७ अर्ब रुपैयाँ हाराहारीमा रहेको कारोबार रकम मंगलबार खुम्चिएर ५ अर्ब ६५ करोड रुपैयाँमा सीमित बन्न पुग्यो। प्राविधिक विश्लेषकहरूका अनुसार बजार बढ्दा भोल्युम (कारोबार रकम) ले साथ नदिनुलाई पूर्ण ‘कन्फर्मेसन’ मानिँदैन, जसले गर्दा लगानीकर्ताहरू आगामी दिशा तय गर्न थप फन्डामेन्टल संकेतको पर्खाइमा रहेको बुझ्न सकिन्छ।

बजारमा हिजो वाणिज्य बैंक र केही जलविद्युत कम्पनीहरूमा संस्थागत लगानीकर्ता (स्मार्ट मनी) को आकर्षण कायमै देखिएको थियो। सबैभन्दा बढी ग्लोबल आइएमई बैंकको २३ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भयो भने बुटवल पावर र कुमारी बैंकमा पनि उच्च कारोबार देखियो। मूल्य वृद्धिका हिसाबले रिभर फल्स पावर र शिखर पावर जस्ता साना जलविद्युत कम्पनी अगाडि रहे। अर्कोतर्फ, पछिल्ला दिनमा निरन्तर बढिरहेको बेनी हाइड्रोपावरमा भने लगानीकर्ताले नाफा सुरक्षित गर्न खोज्दा (प्रोफिट बुकिङ) मूल्यमा ५ प्रतिशतभन्दा बढीको गिरावट आएको थियो।

प्राविधिक पाटोबाट मंगलबारको बजारलाई विश्लेषण गर्दा नेप्सेले लामो समयदेखिको घट्दो प्रवृत्ति (डाउनट्रेन्ड लाइन) लाई ब्रेकआउट गरेको देखिन्छ। बजार २६५३ विन्दुमा खुलेर २६४३ सम्म झरे पनि अन्त्यमा दिनकै उच्च विन्दु (२६६४) मा बन्द हुनुले चार्टमा निकै बलियो ‘बुलिस क्यान्डल’ निर्माण गरेको छ। यसले तल्लो विन्दुमा शेयर बेच्न कोही तयार नरहेको र सस्तोमा शेयर उठाउने ‘बार्गेन हन्टर’ हरू बजारमा हावी भएको पुष्टि गर्छ। विगतको ‘लोअर लो’ को शृंखला तोडिएर ‘हायर लो’ बन्नु बजारको निकै सकारात्मक पक्ष हो।

बजारको गति नाप्ने सूचकहरूले पनि सकारात्मक संकेत नै गरेका छन्। खरिदबिक्रीको चाप मापन गर्ने आरएसआई ६० को विन्दुमा पुगेको छ, जसले खरिदकर्ताको बलियो उपस्थिति देखाउँछ। म्याक्डी  इन्डिकेटरमा हिस्टोग्राम हरियो बनेको छ र इचिमोकु क्लाउडको माथिल्लो बिन्दुमा परिसूचक पुगेको छ। यसले बजारले माथिल्लो यात्रा तय गर्न खोजेको स्पष्ट पार्छ।

आज (बुधबार) को बजार खुल्दै गर्दा लगानीकर्ताको नजर मुख्यतया कारोबार रकम र प्राविधिक प्रतिरोध (रेजिस्टेन्स) मा हुनेछ। दैनिक चार्टअनुसार नेप्सेको तत्कालको प्राविधिक रेजिस्टेन्स  २६७६.५२ विन्दुमा छ। यदि आज बजारले भोल्युमको साथ यो विन्दुलाई पार गर्‍यो भने २७५४  विन्दुसम्मको यात्रा तय गर्ने प्राविधिक आधारहरू खडा हुनेछन्। इचिमोकु क्लाउडलाई चिरेर परिसूचक माथि गएमा बजारले थप गति लिने निश्चित छ।

तर, परिसूचक बढे पनि भोल्युमले साथ दिएन र बजारमा सामान्य करेक्सन आयो भने २६०२.३९ को विन्दुले पहिलो बलियो टेवा (सपोर्ट) को काम गर्नेछ। तसर्थ, आज बजार खुल्दा आउने कारोबार रकम र सुरुआती प्रहरको खरिदबिक्री चापले नै नेप्सेको आगामी बाटो तय गर्ने विश्लेषकहरूको बुझाइ छ।