बीमा प्राधिकरणको नेतृत्व राजन विक्रम थापालाई
वि.सं.२०८३ कात्तिक १९ बिहीवार ०९:२१
shares

काठमाडौँ — सरकारले नेपाल बीमा प्राधिकरणको नयाँ अध्यक्षमा राजन विक्रम थापालाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले बीमा क्षेत्रको नियामक निकायको सर्वोच्च पदमा थापालाई ल्याउने निर्णय गरेको हो ।
अर्थ मन्त्रालयद्वारा गठित छनोट तथा सिफारिस समितिको प्रस्तावलाई सदर गर्दै सरकारले उनलाई उक्त जिम्मेवारी सुम्पेको हो । मन्त्रिपरिषद्बाट नियुक्त भएलगत्तै नवनियुक्त अध्यक्ष थापाले बुधबार अर्थ मन्त्रालयमा आयोजित एक विशेष समारोहबीच आफ्नो पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
उनलाई अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शपथ गराएका हुन् । शपथ ग्रहण कार्यक्रममा बोल्दै अर्थमन्त्री डा. वाग्लेले बीमा क्षेत्रप्रति आम नागरिकको विश्वास बढाउनुपर्नेमा जोड दिए । उनले कुनै पनि प्रभाव वा दबाबमा नपरी निडर र निर्धक्कका साथ आफ्नो जिम्मेवारी निर्वाह गर्न नयाँ अध्यक्ष थापालाई विशेष निर्देशन समेत दिएका छन् ।



















