Dhulikhel Eco Banner new

अमूलको घिउ र बटर महँगियो, एक किलो घिउमा भारु ५० बढ्यो

299
shares

काठमाडौं, १९ कात्तिक । भारतको प्रमुख दुग्धजन्य उत्पादन कम्पनी अमूलले घिउ र बटरको मूल्य वृद्धि गरेको छ। कम्पनीले एक किलो घिउमा भारु ५० तथा बटरका विभिन्न प्याकेटमा भारु ३ देखि १५ सम्म मूल्य बढाएको हो।

मूल्यवृद्धिपछि अमूलको एक किलो घिउको मूल्य भारु ६३० बाट बढेर ६८० पुगेको छ। त्यस्तै, ५०० ग्रामको प्याकेटको मूल्य भारु ३२५ बाट बढाएर ३४५ पुर्‍याइएको छ।

बटरको मूल्य पनि बढाइएको छ। १०० ग्रामको प्याकेटको मूल्य भारु ६३ बाट बढेर ६६ पुगेको छ भने ५०० ग्रामको प्याकेटको मूल्य भारु ३१० बाट बढेर ३२५ कायम भएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार गुजरात र राजस्थानमा नक्कली घिउविरुद्ध सरकारी निकायले गरेको कारबाहीपछि ब्रान्डेड घिउको माग बढ्नु मूल्यवृद्धिको प्रमुख कारण बनेको छ। पछिल्लो छ महिनामा ती दुई राज्यका विभिन्न स्थानबाट करिब दुई लाख किलो नक्कली घिउ बरामद गरिएको बताइएको छ।

नक्कली घिउको कारोबारमाथि कारबाही भएपछि उपभोक्ताको विश्वास स्थापित ब्रान्डतर्फ बढेको र त्यसको प्रत्यक्ष प्रभाव अमूलजस्ता कम्पनीका उत्पादनको मागमा परेको हो। यसका साथै चाडपर्वको समयमा घिउको खपत उच्च हुने भएकाले बजारमा आपूर्तिको दबाबसमेत बढेको छ।

कम्पनीसँग सम्बन्धित एक सहकारी क्षेत्रका अगुवाका अनुसार वर्षभरि बिक्री हुने कुल घिउमध्ये करिब ४५ प्रतिशत चाडपर्वको समयमा खपत हुने गरेको छ। यसले चाडपर्वको मौसममा माग र आपूर्तिबीच थप असन्तुलन सिर्जना गर्ने गरेको छ।

यसअघि सन् २०२५ सेप्टेम्बरमा भारत सरकारले दुग्धजन्य उत्पादनमा लाग्ने वस्तु तथा सेवा कर (जीएसटी) १२ प्रतिशतबाट घटाएर ५ प्रतिशतमा झारेको थियो। त्यसपछि अमूलले आफ्ना करिब ७०० उत्पादनको मूल्य घटाएको थियो। त्यसबेला एक किलो घिउको मूल्य भारु ६५० बाट घटाएर ६१० र १०० ग्राम बटरको मूल्य भारु ६२ बाट घटाएर ५८ कायम गरिएको थियो। पछिल्लो मूल्यवृद्धिले कर कटौतीबाट उपभोक्ताले पाएको राहतसमेत केही हदसम्म कम गरेको छ।

मूल्य बढेसँगै बजारमा अमूलका केही उत्पादनको उपलब्धतामा समेत समस्या देखिन थालेको छ। गुजरातका वडोदरा र अहमदाबादका खुद्रा विक्रेताहरूले घिउको मौज्दात घट्दै गएको बताएका छन्। गणेश उत्सवपछि काउ घिउको माग बढ्दा आपूर्तिमा असर परेको उनीहरूको भनाइ छ।

अहमदाबादस्थित एक डी-मार्ट आउटलेटमा मंगलबार अमूलको घिउ र बटर दुवै मौज्दात नरहेको समाचारमा उल्लेख छ। यसअघि पुणे र कोलकातामा समेत घिउ तथा अन्य दुग्धजन्य उत्पादनको आपूर्ति प्रभावित भएको गुनासो सार्वजनिक भएको थियो।

नक्कली उत्पादनविरुद्धको कारबाहीपछि ब्रान्डेड वस्तुप्रतिको बढ्दो विश्वास, चाडपर्वको मौसमी माग र सीमित आपूर्तिका कारण भारतको दुग्धजन्य उत्पादन बजारमा मूल्यवृद्धिको दबाब देखिएको छ।