नेपाल टेलिकमको फाइबर इन्टरनेटमा ग्राहकको आकर्षण बढ्दै, १७ दिनमै थपिए ११ हजारभन्दा बढी
वि.सं.२०८३ कात्तिक २० शुक्रवार १०:००
shares

काठमाडौं, २० कात्तिक । नेपाल टेलिकमको फाइबर इन्टरनेट सेवामा ग्राहकको आकर्षण बढ्दै गएको छ। पछिल्लो १७ दिनमा कम्पनीले ११ हजार ७६४ नयाँ ग्राहक थप्न सफल भएको छ।
प्रधानमन्त्री कार्यालयका अनुसार अक्टोबर १६ देखि नोभेम्बर २ सम्मको अवधिमा उक्त संख्यामा नयाँ ग्राहक थपिएका हुन्। नयाँ ग्राहकहरूमध्ये ४० प्रतिशतले वार्षिक ४ हजार ९९९ रुपैयाँ शुल्क रहेको ३० एमबीपीएस गतिको सस्तो इन्टरनेट प्याकेज रोजेका छन्।
डिजिटल नेपाल अभियानअन्तर्गत इन्टरनेट सेवालाई सर्वसाधारणको पहुँचमा पुर्याउने उद्देश्यले उक्त प्याकेज ल्याइएको हो।
गत वर्ष कात्तिक महिनाभरिमा नेपाल टेलिकमको फाइबर इन्टरनेट सेवामा जम्मा २ हजार ९८१ ग्राहक थपिएका थिए। गत वर्षको तुलनामा यस वर्ष छोटो अवधिमै ग्राहक थपिने संख्या उल्लेख्य रूपमा बढेको देखिएको छ।
यसैबीच, नेपाल टेलिकमले पछिल्लो तीन सातामा अनलाइन प्लेटफर्म तथा कल सेन्टरमार्फत नयाँ इन्टरनेट जडानका लागि २८ हजार १९२ आवेदन प्राप्त गरेको जनाएको छ।
त्यस्तै, कम्पनीले चालु आर्थिक वर्षभित्र दुर्गम क्षेत्रसहित देशका १६०० स्थानमा 4G/LTE सेवा विस्तार गर्ने तयारी गरेको छ। यसका लागि नेपाल टेलिकमले सेवा विस्तारसम्बन्धी ठेक्का प्रक्रियासमेत अघि बढाएको छ।
फोरजी सेवा विस्तारसँगै दूरदराजका नागरिकलाई सञ्चार तथा इन्टरनेट सेवाको पहुँचमा जोड्ने लक्ष्य कम्पनीले राखेको छ।



















