विद्युत् प्राधिकरणमा कर्मचारीका लागि रोजगारीको अवसर, कुन पदमा कति माग ?
वि.सं.२०८३ कात्तिक २० शुक्रवार ११:४७
shares

काठमाडौं, २० कात्तिक । नेपाल विद्युत् प्राधिकरणले अधिकृतस्तरदेखि सहायकस्तरसम्मका विभिन्न पदमा ठूलो संख्यामा कर्मचारी माग गरेको छ। प्राधिकरणले खुला प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्ति गर्ने गरी प्राविधिक तथा प्रशासनिक सेवाका रिक्त पदहरूमा दरखास्त आह्वान गरेको हो।
प्राधिकरणले उच्च व्यवस्थापकीय अधिकृतस्तरदेखि सहायकस्तरसम्मका विभिन्न पदमा योग्यता पुगेका इच्छुक नेपाली नागरिकबाट आवेदन माग गरेको छ।
अधिकृतस्तरका पदमा पनि अवसर
उच्च व्यवस्थापकीय अधिकृतस्तरअन्तर्गत प्राविधिक इलेक्ट्रिकल समूहको तह १० प्रबन्धक पदमा दलित समावेशी कोटाबाट १ जना माग गरिएको छ। उक्त पदका लागि सम्बन्धित विषयमा स्नातकोत्तर उत्तीर्ण गरी कम्तीमा १० वर्ष अधिकृतस्तरको कार्यअनुभव हुनुपर्नेछ।
त्यस्तै, तह ८ अन्तर्गत प्रशासन सेवाको लेखा समूहमा खुलातर्फ १ जना सहायक निर्देशक र आदिवासी जनजाति कोटामा १ जना वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट माग गरिएको छ।
प्राविधिकतर्फ तह ८ कै सहायक प्रबन्धक पदमा खुला २ र आदिवासी जनजाति १ गरी ३ जना इलेक्ट्रिकल इन्जिनियर तथा महिला कोटाबाट १ जना कम्प्युटर इन्जिनियर माग गरिएको छ। यी पदका लागि स्नातकोत्तर वा सीए उत्तीर्णसहित कम्तीमा पाँच वर्षको अधिकृतस्तरीय कार्यअनुभव अनिवार्य गरिएको छ।
तह ७ मा ४१ जना इलेक्ट्रिकल इन्जिनियर माग
अधिकृतस्तरको तह ७ मा विभिन्न प्रशासनिक तथा प्राविधिक पदमा कर्मचारी माग गरिएको छ।
प्रशासनतर्फ खुला ४, महिला १, मधेसी १ र अपाङ्ग १ गरी ७ जना प्रशासकीय अधिकृत माग गरिएको छ। त्यस्तै, खुलातर्फ १ जना कानुन अधिकृत, खुला ३, महिला १, मधेसी १ र अपाङ्ग १ गरी ६ जना लेखा अधिकृत तथा खुला र महिला गरी २ जना चार्टर्ड एकाउन्टेन्ट माग गरिएको छ।
प्राविधिक इन्जिनियरिङतर्फ इलेक्ट्रिकल इन्जिनियर पदमा सबैभन्दा धेरै ४१ जनाका लागि विज्ञापन खुलाइएको छ। जसमा खुला २२, महिला ६, आदिवासी जनजाति ५, मधेसी ४, दलित २, अपाङ्ग १ र पिछडिएको क्षेत्रबाट १ जना माग गरिएको छ।
त्यसैगरी, तह ७ मै खुला र दलित गरी २ जना इलेक्ट्रोनिक्स इन्जिनियर, खुला २, आदिवासी जनजाति १ र मधेसी १ गरी ४ जना मेकानिकल इन्जिनियर तथा खुला २, महिला १ र पिछडिएको क्षेत्र १ गरी ४ जना सिभिल इन्जिनियर माग गरिएको छ।
यसैगरी खुलातर्फ १ जना सर्भे इन्जिनियर, खुला र आदिवासी जनजाति गरी २ जना कम्प्युटर इन्जिनियर, खुलातर्फ १ जना वातावरणविद् तथा मधेसी कोटामा १ जना जियोलोजिष्टका लागि पनि आवेदन माग गरिएको छ।
तह ५ मा सयौँ प्राविधिक तथा प्रशासनिक कर्मचारी माग
सहायकस्तरको तह ५ मा पनि प्राधिकरणले विभिन्न प्रदेशका लागि ठूलो संख्यामा कर्मचारी माग गरेको छ।
प्रशासनतर्फ मिटररिडिङ सुपरभाइजर पदमा कोशीमा ४, बागमतीमा १३ र लुम्बिनीमा ११ गरी कुल २८ जना माग गरिएको छ। त्यस्तै, लेखा समूहको लेखापाल पदमा कोशीमा १०, मधेसमा ३, बागमतीमा १० र लुम्बिनीमा ७ गरी कुल ३० जनाका लागि दरखास्त आह्वान गरिएको छ।
यी प्रशासनिक पदमा प्रवीणता प्रमाणपत्र तह वा प्लस टु उत्तीर्ण भई लोक सेवा आयोग वा संगठित संस्थाको पाँचौँ तहको पूर्वयोग्यता परीक्षा उत्तीर्ण गरेका उम्मेदवारले प्रतिस्पर्धा गर्न पाउनेछन्।
प्राविधिकतर्फ तह ५ को इलेक्ट्रिकल सुपरभाइजर पदमा देशभरका सातै प्रदेशबाट कुल २८८ जना माग गरिएको छ। जसमा कोशी प्रदेशबाट ५७, मधेसबाट २६, बागमतीबाट ७०, गण्डकीबाट ३०, लुम्बिनीबाट ४२, कर्णालीबाट २८ र सुदूरपश्चिमबाट ३५ जना छनोट गरिनेछ।
यसबाहेक मेकानिकल सुपरभाइजर वा फोरम्यान पदमा कोशीमा २, लुम्बिनीमा १, कर्णालीमा १ र सुदूरपश्चिममा ४ गरी कुल ८ जना तथा सिभिल सब–इन्जिनियर पदमा कोशीमा २ र सुदूरपश्चिममा १ गरी ३ जना माग गरिएको छ।
प्राविधिक सहायक पदका लागि सम्बन्धित विषयमा डिप्लोमा वा तीन वर्षे प्राविधिक प्रमाणपत्र तह उत्तीर्ण भएको हुनुपर्नेछ।
उमेरको हद र आवेदन दिने म्याद
प्राधिकरणका अनुसार तह १० र तह ८ का पदमा आवेदन दिन दरखास्तको अन्तिम मितिसम्म २१ वर्ष पूरा भई ४० वर्ष ननाघेको हुनुपर्नेछ। तह ७ का लागि २१ वर्ष पूरा भई ३५ वर्ष ननाघेको तथा सहायकस्तर तह ५ का लागि १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्ने व्यवस्था छ।
महिला तथा अपाङ्गता भएका उम्मेदवारको हकमा भने तह ७ र तह ५ का लागि माथिल्लो उमेर हद ४० वर्ष कायम गरिएको छ। प्राधिकरणमा पहिलेदेखि नै कार्यरत स्थायी कर्मचारीका लागि भने उमेरको कुनै हद लाग्ने छैन।
दरखास्त दिन इच्छुक खुला तथा नयाँ उम्मेदवारले प्राधिकरणको अनलाइन पदपूर्ति पोर्टल ‘करियर डट एनइए डट ओआरजी डट एनपी’ मार्फत आवेदन दिन सक्नेछन्। प्राधिकरणमा कार्यरत स्थायी कर्मचारीले भने आन्तरिक प्रणाली ‘एचआरआइएस डट एनइए डट ओआरजी डट एनपी’ मार्फत फाराम भर्नुपर्नेछ।
दरखास्त बुझाउने अन्तिम म्याद २०८३ मंसिर १० गतेसम्म तोकिएको छ। दोब्बर दस्तुर तिरेर भने मंसिर १७ गतेसम्म आवेदन दिन सकिनेछ।



















