Dhulikhel Eco Banner new

सिटिजन लाइफको नाफा २३.९० प्रतिशतले घट्यो, जीवन बीमा कोष ३५ प्रतिशतले बढ्यो

806
shares

काठमाडौं, २० कात्तिक ।सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८३/८४ को प्रथम त्रैमास (साउन–असोज) को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार समीक्षा अवधिमा खुद नाफा घटेको छ भने जीवन बीमा कोष, कुल बीमाशुल्क तथा खुद बीमाशुल्क आर्जनमा वृद्धि भएको छ।

वित्तीय विवरणअनुसार कम्पनीले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा १० करोड ६६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १३ करोड १४ लाख रुपैयाँ नाफा कमाएको थियो। यसअनुसार कम्पनीको नाफा अघिल्लो वर्षको तुलनामा २३।९० प्रतिशतले घटेको हो।

समीक्षा अवधिसम्म कम्पनीको महाविपत्ति कोषमा २७ करोड ९४ लाख रुपैयाँ रिटेन्ड अर्निङमा ५८ करोड ७० लाख रुपैयाँ तथा अन्य इक्विटीमा ३५ करोड ८६ लाख रुपैयाँ रहेको छ। अघिल्लो आर्थिक वर्षको असार मसान्तमा कम्पनीको महाविपत्ति कोषमा २६ करोड ९४ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ४९ करोड ८३ लाख रुपैयाँ र अन्य इक्विटीमा ३६ करोड २६ लाख रुपैयाँ रहेको थियो।

त्यस्तै, कम्पनीको जीवन बीमा कोषको आकार समीक्षा अवधिमा बढेर २९ अर्ब १६ करोड २७ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो कोष २१ अर्ब ५९ करोड १० लाख रुपैयाँ रहेको थियो। यसअनुसार कम्पनीको जीवन बीमा कोष ३५ प्रतिशतले वृद्धि भएको छ।

बीमाशुल्क आर्जनतर्फ पनि कम्पनीले वृद्धि हासिल गरेको छ। समीक्षा अवधिमा कम्पनीले २ अर्ब ५७ करोड ५२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो आर्जन २ अर्ब २३ करोड २८ लाख रुपैयाँ रहेको थियो। यसअनुसार कुल बीमाशुल्क आर्जन १५.३३ प्रतिशतले बढेको छ।

त्यसैगरी, कम्पनीको खुद बीमाशुल्क आर्जन १६.८२ प्रतिशतले वृद्धि भएको छ। चालु आर्थिक वर्षको असोजसम्म कम्पनीले २ अर्ब ४८ करोड ४० लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीको खुद बीमाशुल्क आर्जन २ अर्ब १२ करोड ६३ लाख रुपैयाँ रहेको थियो।

कम्पनीको चुक्ता शेयर पुँजी ५ अर्ब रुपैयाँ रहेको छ। समीक्षा अवधिमा कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) ८ रुपैयाँ १ पैसा कायम भएको छ भने प्रतिशेयर नेटवर्थ १३३ रुपैयाँ ५० पैसा रहेको वित्तीय विवरणमा उल्लेख छ।

समग्रमा, कम्पनीको प्रथम त्रैमासिक वित्तीय विवरणमा नाफा घटेको देखिए पनि जीवन बीमा कोष तथा बीमाशुल्क आर्जनमा वृद्धि भएको छ। यद्यपि, बीमाशुल्क र बीमा कोषको वृद्धिले मात्रै कम्पनीको समग्र नाफा वा वित्तीय स्वास्थ्यमा सुधार भएको निष्कर्ष निकाल्न पर्याप्त हुँदैन। त्यसका लागि दाबी भुक्तानी, सञ्चालन खर्च, लगानीबाट प्राप्त प्रतिफल तथा अन्य वित्तीय सूचकसमेत विश्लेषण गर्नुपर्ने हुन्छ।