त्रिभुवन विश्वविद्यालयले फिर्ता ल्यायो ७०० रोपनीभन्दा बढी जग्गा, संरचना हटाउने प्रक्रिया सुरु
वि.सं.२०८३ कात्तिक २० शुक्रवार १०:१२
shares

काठमाडौं, २० कात्तिक । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले विभिन्न सरकारी तथा गैरसरकारी संस्थाले प्रयोग गर्दै आएका ७०० रोपनीभन्दा बढी जग्गा आफ्नो व्यवस्थापनमा फिर्ता ल्याएको छ।
पूर्वसचिव शारदाप्रसाद त्रिताल नेतृत्वको समितिले दिएको सुझावका आधारमा विश्वविद्यालयले जग्गा प्रयोग गर्दै आएका संस्थाहरूलाई संरचना खाली गर्न ३५ दिने सूचना जारी गरेको थियो। सोही प्रक्रियाअनुसार विश्वविद्यालयले जग्गा आफ्नो स्वामित्व र व्यवस्थापनमा ल्याएको हो।
त्रिविका प्रवक्ता नबिन्द्रप्रसाद भण्डारीका अनुसार विश्वविद्यालयको जग्गामा निर्माण गरिएका संरचना हटाउने प्रक्रिया सुरु भइसकेको छ।
यद्यपि, नेपाल क्रिकेट संघ (CAN) ले प्रयोग गर्दै आएको करिब ७८ रोपनी जग्गाको विषयमा भने अझै छलफल जारी छ। उक्त जग्गा प्रयोगका सम्बन्धमा त्रिभुवन विश्वविद्यालय र राष्ट्रिय खेलकुद परिषद्सँग नयाँ सम्झौता गर्ने विषयमा छलफल भइरहेको प्रवक्ता भण्डारीले बताएका छन्।
विश्वविद्यालयको जग्गा संरक्षण तथा व्यवस्थित उपयोग गर्ने उद्देश्यले फिर्ता ल्याउने प्रक्रिया अघि बढाइएको हो। लामो समयदेखि विभिन्न संस्थाले प्रयोग गर्दै आएको विश्वविद्यालयको जग्गा पुनः आफ्नै व्यवस्थापनमा ल्याउने कदमलाई विश्वविद्यालयको सम्पत्ति संरक्षणका रूपमा हेरिएको छ।



















