Dhulikhel Eco Banner new

रुपन्देहीमा देउसीभैलो राती १० बजेसम्म मात्र खेल्न पाइने

533
shares

काठमाडौं, २२ कात्तिक।  रुपन्देहीमा तिहारको अवसरमा खेलिने देउसी–भैलो कार्यक्रम राती १० बजेसम्म मात्र सञ्चालन गर्न पाइने भएको छ । जिल्ला प्रशासन कार्यालय, रुपन्देहीले प्रचलित परम्पराअनुसार खेलिने देउसीभैलो जस्ता कार्यक्रम राती १० बजेसम्म मात्र गर्न आग्रह गरेको हो ।

चाडपर्वलाई व्यवस्थित, मर्यादित, उल्लासमय, शान्तिपूर्ण तथा सुरक्षित वातावरणमा सामाजिक सद्भाव कायम गर्दै मनाउन कार्यालयले सम्पूर्ण जिल्लाबासीलाई अनुरोध गरेको छ ।

कार्यालयले तिहारमा सर्वसाधारणलाई असर पर्ने तथा ध्वनी प्रदूषण हुने गरी साउण्ड सिस्टम (डिजे) नबजाउन, भूइचम्पा, पटका, आतिसबाजी जस्ता बिस्फोटक पदार्थको ओसारपसार, विक्रीवितरण र प्रयोग नगर्न आग्रह गरेको छ ।

त्यस्तै चाडपर्वका समयमा मेला–महोत्सव आयोजना गर्दा स्थानीय प्रशासनको अनुमति लिन, प्रचलित कानूनबमोजिमबाहेक मादक पदार्थको विक्रीवितरण नगर्न तथा सार्वजनिक शान्ति सुरक्षामा खलल आउन सक्ने कुनै पनि गतिविधिहरु नगर्न कार्यालयले अनुरोध गरेको छ । जुवातास खेल्ने, खेलाउने तथा अन्य कुनै पनि जुवाजन्य गतिविधि नगर्नसमेत सूचनामार्फत आग्रह गरिएको छ ।

कार्यालयको सूचनाविपरीतका कुनै पनि कार्य गरेको वा गराएको पाइएमा प्रचलित कानूनबमोजिम कारवाही हुने सहायक प्रमुख जिल्ला अधिकारी लेखनाथ न्यौपानेले जानकारी दिनुभयो । चाडपर्वका समयमा चोरी तथा लुटपाटका गतिविधिहरु हुन सक्ने भएकाले आ–आफ्नो घर तथा पसलको भरपर्दो सुरक्षा व्यवस्था मिलाउनसमेत उहाँले जिल्लाबासीलाई आग्रह गर्नुभएको छ । नेपालीहरुको महान पर्व दीपावली, नेपाल सम्वत्, छठ लगायतका पर्वहरुको अवसरमा सम्पूर्ण जिल्लाबासीमा जिल्ला प्रशासन कार्यालय, रुपन्देहीले शुभकामना समेत व्यक्त गरेको छ ।