तिहारमा फूलमाला बिक्रीका लागि काठमाडौंका ३३ स्थान तोकिए, प्लास्टिकका फूल बेच्न प्रतिबन्ध
वि.सं.२०८३ कात्तिक २२ आइतवार १०:२६
shares

काठमाडौं, २२ कात्तिक। काठमाडौं महानगरपालिकाले तिहारलाई लक्षित गर्दै राजधानीका ३३ स्थानमा स्थानीय उत्पादनका फूल तथा माला बिक्री गर्ने व्यवस्था मिलाएको छ। प्लास्टिकका फूल तथा माला बिक्रीमा प्रतिबन्ध लगाएसँगै महानगरले स्वदेशी फूल उत्पादक किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले बिक्रीस्थल तोकेको हो।
महानगरपालिकाले नयाँ बानेश्वर, तीनकुने, चाबहिल, कालीमाटी, भृकुटीमण्डप, बालुवाटारलगायत राजधानीका विभिन्न स्थानमा फूल तथा माला बिक्रीका लागि व्यवस्था गरेको जनाएको छ।
यस व्यवस्थाले नेपाली किसानले उत्पादन गरेका फूलको बजारीकरणमा सहयोग पुग्नुका साथै उपभोक्ताले पनि सहज रूपमा ताजा फूल तथा माला खरिद गर्न पाउने अपेक्षा गरिएको छ।
महानगरपालिकाले प्लास्टिकका फूल, माला तथा प्रतिबन्धित सजावटका सामग्री बिक्री नगर्नसमेत व्यवसायीलाई सचेत गराएको छ। प्रतिबन्धविपरीत बिक्री गरेको पाइएमा त्यस्ता सामग्री जफत गरिने महानगरले चेतावनी दिएको छ।
तिहारमा फूलको माग उच्च हुने भएकाले स्थानीय उत्पादनको खपत बढाउने, किसानलाई बजार सुनिश्चित गर्ने र प्लास्टिकजन्य सामग्रीको प्रयोग निरुत्साहित गर्ने उद्देश्यले महानगरले यस्तो व्यवस्था गरेको हो।



















