Dhulikhel Eco Banner new

घरायसी र व्यावसायिक ग्यासका लागि छुट्टाछुट्टै सिलिन्डर, रातो र निलो रङ प्रयोग गर्ने तयारी

221
shares

काठमाडौं, २२ कात्तिक।  नेपालमा घरायसी तथा व्यावसायिक प्रयोजनका लागि छुट्टाछुट्टै रङका एलपी ग्यास सिलिन्डर प्रयोग गर्ने व्यवस्था ल्याउने तयारी भइरहेको छ। प्रस्तावित व्यवस्थाअनुसार घरायसी प्रयोजनका लागि रातो रङको सिलिन्डर र होटल, रेस्टुरेन्ट तथा अन्य व्यावसायिक प्रयोजनका लागि निलो रङको सिलिन्डर प्रयोग गरिनेछ।

प्रस्तावअनुसार घरायसी उपभोक्ताले हालकै अनुदानित मूल्यमा प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँमा १४.२ केजी ग्यास पाउनेछन्। तर व्यावसायिक प्रयोजनका लागि प्रयोग हुने ग्यासमा सरकारी अनुदान उपलब्ध नहुने र त्यसको मूल्य प्रतिसिलिन्डर करिब २ हजार ७ सय रुपैयाँ पर्ने अनुमान गरिएको छ।

घरायसी र व्यावसायिक ग्यासको प्रयोग छुट्याउने तथा अनुदानको लाभ लक्षित उपभोक्तासम्म पुर्‍याउने उद्देश्यले यस्तो व्यवस्था प्रस्ताव गरिएको हो।

यद्यपि रातो र निलो रङका छुट्टाछुट्टै सिलिन्डर प्रयोग गर्ने विषय अहिले छलफल र प्रस्तावकै चरणमा रहेको छ। सरकारले यसलाई औपचारिक रूपमा कार्यान्वयनमा ल्याइसकेको छैन।

सिलिन्डरको अन्तिम मूल्य, आकार तथा अन्य प्राविधिक मापदण्डसमेत टुंगो लाग्न बाँकी रहेकाले सम्बन्धित निकायबाट अन्तिम निर्णय भएपछि मात्रै यसको कार्यान्वयन प्रक्रिया अघि बढ्नेछ।