Dhulikhel Eco Banner new

बक्यौता नतिर्ने २० इन्टरनेट कम्पनीलाई १५ दिनको अल्टिमेटम, लाइसेन्स खारेजीको चेतावनी

637
shares

काठमाडौं, ३ मंसिर । लामो समयदेखि रोयल्टी र ग्रामीण दूरसञ्चार विकास कोष (आरटीडीएफ) बापतको बक्यौता रकम नबुझाउने २० वटा इन्टरनेट तथा दूरसञ्चार सेवा प्रदायकलाई नेपाल दूरसञ्चार प्राधिकरणले १५ दिनभित्र रकम बुझाउन निर्देशन दिएको छ ।

प्राधिकरणको अनुमतिपत्र व्यवस्थापन शाखाले सोमबार (२०८१ मंसिर ३ गते) सार्वजनिक सूचना जारी गर्दै तोकिएको समयभित्र बक्यौता चुक्ता नगरे सम्बन्धित कम्पनीको अनुमतिपत्र (लाइसेन्स) खारेजी प्रक्रिया अघि बढाउने चेतावनी दिएको हो ।

प्राधिकरणका अनुसार ती कम्पनीहरूले नेपाल सरकार तथा प्राधिकरणलाई बुझाउनुपर्ने रोयल्टी, ग्रामीण दूरसञ्चार विकास कोषको रकम तथा त्यसमा लाग्ने थप दस्तुर र जरिवानासमेत लामो समयदेखि तिरेका छैनन् । बक्यौता नबुझाएकै कारण उनीहरूको अनुमतिपत्र नवीकरणसमेत हुन सकेको छैन ।

प्राधिकरणले जारी गरेको सूचनामा १५ दिनभित्र सम्पूर्ण बक्यौता रकम चुक्ता नगरे दूरसञ्चार ऐन, २०५३ को दफा २८ बमोजिम अनुमतिपत्र खारेजी प्रक्रिया अघि बढाइने उल्लेख छ । साथै बाँकी रकम प्रचलित कानुनअनुसार असुल गरिने जनाएको छ ।

यसैबीच, प्राधिकरणले उपभोक्तालाई अनुमतिपत्र नवीकरण भएका सेवा प्रदायकबाट मात्रै इन्टरनेट तथा दूरसञ्चार सेवा लिन आग्रह गरेको छ ।

बक्यौता नतिर्ने २० सेवा प्रदायक

प्राधिकरणको सूचनाअनुसार कारबाहीको चेतावनी पाएका कम्पनीहरू निम्न छन् ।

१. एलिशा कम्युनिकेसन लिंक प्रा.लि. (बछौली, चितवन)
२. एरोनेट प्रा.लि. (त्रिपुरेश्वर, काठमाडौं)
३. ब्रोडलिङ्क नेटवर्क एन्ड कम्युनिकेसन लिमिटेड (सानेपा, ललितपुर)
४. क्लासिक टेक प्रा.लि. (नयाँ बानेश्वर, काठमाडौं)
५. कम्युनिकेसन एन्ड कम्युनिकेट नेपाल प्रा.लि. (जावलाखेल, ललितपुर)
६. एभरेष्ट वायरलेस नेटवर्क प्रा.लि. (नारायण नगरपालिका, दैलेख)
७. जी.आर.एस. लिङ्क इन्टरनेट सर्भिस प्रा.लि. (व्यास नगरपालिका, तनहुँ)
८. आई. जोन प्रा.लि. (उर्लाबारी, मोरङ)
९. कालिका नेट प्रा.लि. (चापाकोट, स्याङ्जा)
१०. खप्तड नेट प्रा.लि. (मंगलसेन, अछाम)
११. कनेक्ट नेपाल नेटवर्क्स प्रा.लि. (थसिखेल, ललितपुर)
१२. मर्कन्टाइल कम्युनिकेसन प्रा.लि. (दरबारमार्ग, काठमाडौं)
१३. नेक्स्ट गिकर्स प्रा.लि. (काठमाडौं–२९)
१४. नुम्बुर नेटवर्क प्रा.लि. (काठमाडौं–७)
१५. पोखरा इन्टरनेट प्रा.लि. (गैरापाटन, पोखरा)
१६. सांग्रिला इन्फर्मेटिक्स प्रा.लि. (अनामनगर, काठमाडौं)
१७. सुपर सीतापाइला केबल नेट प्रा.लि. (नागार्जुन, काठमाडौं)
१८. टेकमाइन्ड्स नेटवर्क लिमिटेड (भरतपुर, चितवन)
१९. अल्ट्रानेट कम्युनिकेसन प्रा.लि. (बनेपा, काभ्रेपलाञ्चोक)
२०. वेब सर्फर नेपाल कम्युनिकेसन्स सिस्टम प्रा.लि. (धुम्बाराही, काठमाडौं)