फर्स्ट माइक्रोफाइनान्सको साधारण सभा मंसिर २८ मा, ११.०५ प्रतिशत नगद लाभांश प्रस्ताव
वि.सं.२०८३ मंसिर ४ शुक्रवार १०:२७
shares

काठमाडौं, ४ मंसिर । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड (FMDBL) ले लाभांश वितरणसहित विभिन्न प्रस्ताव पारित गर्न १७औँ वार्षिक साधारण सभा बोलाएको छ ।
संस्थाले मंसिर २८ गते सोमबार काठमाडौंको भाटभटेनीस्थित आम्रपाली ब्याङ्केटमा साधारण सभा आयोजना गर्ने भएको हो । सभा बिहान १० बजे सुरु हुनेछ ।
सभामा गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई हाल कायम चुक्ता पुँजीको ११.०५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । उक्त लाभांशमा कर प्रयोजनार्थ आवश्यक रकमसमेत समावेश छ ।
त्यसैगरी, साधारण सभाले संस्थापक शेयरधनीका तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने तीन जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पारित गर्नेछ । सभामा लेखापरीक्षक नियुक्त गर्ने तथा अन्य कुनै उपयुक्त लघुवित्त वित्तीय संस्थासँग मर्जर तथा प्राप्तिसम्बन्धी कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि प्रस्तुत गरिनेछ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि लघुवित्तले मंसिर १५ गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेको छ । यसअनुसार मंसिर १४ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कारोबार भई कायम रहेका शेयरधनीले साधारण सभामा सहभागी हुन र प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन् ।

















