१५७ किमिको बुटवल–पोखरा सडक ११२ किमिमा छोट्याउने गृहकार्य, २७ देशका परामर्शदाताको प्रस्ताव
वि.सं.२०८३ मंसिर ८ मंगलवार ०८:२४
468
shares
shares

औद्योगिक नगरी बुटवल र पर्यटकीय राजधानी पोखरालाई जोड्ने साँघुरो र घुमाउरो सिद्धार्थ राजमार्गलाई आधुनिक द्रुतमार्गका रूपमा स्तरोन्नति गर्ने प्रक्रियाले ठोस गति लिएको छ । सडक विभागअन्तर्गतको विकास सहायता कार्यान्वयन महाशाखाले विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्न आह्वान गरेको आशयपत्र (ईओआई) मा भारत, अमेरिका र युरोपसहित २७ देशका परामर्शदाता कम्पनीहरूले प्रस्ताव पेस गरेका छन् ।
महाशाखाका सिनियर डिभिजनल इन्जिनियर सुरेश पौडेलका अनुसार भदौ १५ गते आह्वान गरिएको उक्त आशयपत्रमा प्राप्त प्रस्तावहरूको हाल प्राविधिक मूल्यांकन भइरहेको छ । मूल्यांकनबाट उत्कृष्ट ६ कम्पनी छनोट गरी प्राविधिक तथा वित्तीय प्रस्ताव (आरएफपी) मागिनेछ र तीमध्येबाट अब्बल ठहरिने कम्पनीले डीपीआरको अन्तिम जिम्मेवारी पाउनेछ । डीपीआरले नै सडकको अन्तिम रेखांकन, सुरुङमार्गको लम्बाइ र वास्तविक लागतको टुंगो लगाउनेछ ।
सन् १९७० मा भारतको सहयोगमा निर्माण भएको १ सय ५७ किलोमिटर लामो सिद्धार्थ राजमार्ग पाँच दशक बितिसक्दा पनि ५.५ देखि ६.५ मिटर चौडाइमै सीमित छ । पहाडी भूभागका अत्यधिक घुम्ती र बर्सेनि खस्ने पहिरोका कारण घण्टौँ लाग्ने यात्राले लुम्बिनी र गण्डकी प्रदेशको व्यापारिक तथा पर्यटकीय गतिविधिमा अवरोध पुर्याउँदै आएको थियो । मुग्लिङ–नारायणघाट, मुग्लिङ–पोखरा र नारायणघाट–बुटवल खण्ड विस्तार भइरहँदा ‘गण्डकी चतुर्भुज’ को महत्त्वपूर्ण हिस्सा मानिएको यो खण्ड भने स्रोत अभावले ओझेलमा पर्दै आएको थियो ।
विगतका बजेटहरूमा ‘गण्डकी आर्थिक त्रिभुज’ र ‘चतुर्भुज’ का नाममा कार्यक्रम समेटिए पनि यसपटक एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को प्रवेशसँगै परियोजनाले मूर्त रूप लिने संकेत देखिएको छ । चीन र भारतको मुख्य लगानी रहेको बेइजिङस्थित एआईआईबीले नेपालमा पहिलो ठूलो ऋण लगानी भित्र्याउने योजनासहित प्रारम्भिक चरणमा २० लाख अमेरिकी डलर (२ मिलियन) अनुदान उपलब्ध गराएको छ । गत माघ ८ गतेको मन्त्रिपरिषद् बैठकले उक्त अनुदान स्वीकार गर्ने निर्णय गरेसँगै डीपीआरको बाटो खुलेको हो ।
प्रारम्भिक अध्ययनहरूको तुलनात्मक तथ्यांक हेर्दा यो परियोजना निकै महत्त्वाकांक्षी बन्दै गएको देखिन्छ । सन् २०१७ मा विश्व बैंकले गरेको अध्ययनले सडकका घुम्ती सुधार गरी १४३.८३ किलोमिटरमा झार्न सकिने र त्यसका लागि १२ अर्ब २० करोड रुपैयाँ लाग्ने अनुमान गरेको थियो । तर, सन् २०२५ मा सडक विभाग आफैँले गरेको अध्ययनले प्रस्ताव गरेका ६ विकल्पमध्येको उत्कृष्ट खाकाअनुसार ८ स्थानमा कुल २३.३४ किलोमिटर सुरुङमार्ग, २७ स्थानमा २.७५ किलोमिटर भायडक्ट र १४ स्थानमा ८६० मिटर पुल निर्माण गरी दूरीलाई ११२.७१ किलोमिटरमा सीमित गर्न सकिने देखिएको छ ।
डेडिकेटेड दुई लेनको उक्त ११२ किलोमिटर द्रुतमार्ग निर्माण गर्न करिब ९६ अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ । चालू आर्थिक वर्षको बजेटमार्फत अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पुरानै सडक सुधार्ने वा सुरुङमार्गसहितको द्रुतमार्ग बनाउने भन्ने विषय वित्तीय क्षमतामा निर्भर रहने स्पष्ट पारेका छन् । ९६ अर्बको विकल्पमा जान सकिए बुटवल–पोखराको यात्रा २ घण्टामै छोटिनेछ, जसले भैरहवा नाका, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरालाई एउटै आर्थिक करिडोरमा जोड्नेछ ।
यद्यपि, अन्तर्राष्ट्रिय परामर्शदाताहरूको उत्साहजनक सहभागिता र एआईआईबीको अनुदानले आशा जगाए पनि कार्यान्वयन पक्षमा विगतका कमजोरी दोहोरिन नदिनु मुख्य चुनौती हो । विशेषगरी नारायणघाट–बुटवल सडक विस्तारमा देखिएको वर्षौँको ढिलासुस्तीबाट पाठ सिक्दै समयमै डीपीआर सक्नु, ९६ अर्ब रुपैयाँको स्रोत सुनिश्चित गर्नु र निर्माणपूर्वका वन तथा जग्गा प्राप्तिका झन्झट टुंग्याउनु सरकारका लागि अनिवार्य सर्त बनेको छ ।

















