Dhulikhel Eco Banner new

प्राविधिक चार्टमा ‘बुलिस मारुबोजु’ क्यान्डल र ट्रेन्डलाइन ब्रेकआउटले आजको कारोबारमा उत्साह थप्ने आकलन

182
shares

 बुधबार सेयर बजारले कस्तो गति लेला भन्ने चासो लगानीकर्तामाझ बढेको छ। अघिल्लो दिन मंगलबार नेप्से परिसूचक १५ दशमलव ३९ अंकले उकालो लागेर २ हजार ६ सय ३८ दशमलव ९५ विन्दुमा अडिएसँगै आजको बजारप्रति सकारात्मक अपेक्षा देखिएको हो। मंगलबार दिनकै उच्च विन्दुमा बजार बन्द हुनु र कारोबार रकमसमेत ५ अर्ब ५५ करोड ३० लाख रुपैयाँ नाघ्नुले बजारमा खरिदकर्ताको मनोबल बलियो बन्दै गएको पुष्टि गर्छ।

आजको कारोबारमा विशेषगरी वाणिज्य बैंक र विकास बैंक समूहको प्रदर्शनमा लगानीकर्ताको नजर रहनेछ। अघिल्लो दिन बैंकिङ उपसमूह १ दशमलव २४ प्रतिशत र विकास बैंक १ दशमलव ०४ प्रतिशतले बढ्दै समग्र बजार उकास्न मुख्य भूमिका खेलेका थिए। लामो समय सुस्त रहेको बैंकिङ क्षेत्रमा देखिएको यो सक्रियताले आज पनि निरन्तरता पाएमा नेप्सेले थप उचाइ लिन सक्ने देखिन्छ।

कम्पनीगत रूपमा हेर्दा ग्लोबल आइएमई बैंकको सेयर कारोबार आज पनि चासोको केन्द्रमा रहने देखिएको छ। बैंकले रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको ४६ लाख ७७ हजार १ सय २० कित्ता संस्थापक सेयर लिलामीमार्फत बिक्री गरी कम्तीमा १ अर्ब १६ करोड ९२ लाख रुपैयाँ भित्र्याउने प्रक्रिया अघि बढाएपछि लगानीकर्ता बैंकतर्फ आकर्षित भएका हुन्। न्यूनतम मूल्यमै सेयर बिक्री हुँदा पनि प्रतिकित्ता १ सय ५० रुपैयाँ पुँजीगत लाभ हुने प्रक्षेपणले बैंकको लाभांश क्षमता बलियो हुने आकलन गरिएको छ, जसको सकारात्मक प्रभाव आजको दोस्रो बजारमा पनि देखिन सक्छ।

प्राविधिक विश्लेषणको दृष्टिकोणबाट नियाल्दा बुधबारको बजारका लागि बलियो आधार तयार भएको देखिन्छ। अघिल्लो दिनको दैनिक चार्टमा बिना माथिल्लो पुच्छरको हरियो ‘बुलिस मारुबोजु’ प्रकृतिको क्यान्डल बन्नुले बजारमा खरिदकर्ता हाबी रहेको स्पष्ट संकेत गर्छ।

चार्टका सूचकहरूअनुसार नेप्सेले २ हजार ६ सय २० विन्दु आसपासको ‘एनडीओजी’  तथा फेयर भ्यालु ग्याप  को सपोर्ट क्षेत्रलाई सम्मान गर्दै बाउन्स ब्याक गरेको छ। यसका साथै, पछिल्लो समय बजारलाई दबाबमा राखेको मुख्य अवरोधक ट्रेन्डलाइनलाई समेत मंगलबारको हरियो क्यान्डलले छिचोलेर (ब्रेकआउट दिएर) माथि बन्द भएको छ।

बढ्दो भोल्युमसहित प्राप्त यो प्राविधिक ब्रेकआउटका कारण आजको कारोबारमा नेप्सेले २ हजार ६ सय ६० देखि २ हजार ६ सय ८० विन्दु आसपास रहेको अवरोध क्षेत्र  परीक्षण गर्न सक्ने विश्लेषण गरिएको छ। यद्यपि, उच्च विन्दुमा पुग्दा अल्पकालीन लगानीकर्ताले नाफा सुरक्षित (प्रोफिट बुक) गर्न खोजेमा सामान्य उतारचढाव आउन सक्ने भएकाले कारोबार रकम र बैंकिङ समूहको गतिलाई नजिकबाट नियाल्नु उपयुक्त देखिन्छ।