Dhulikhel Eco Banner new

समुदाय निर्देशित समाधानका लागि मानवीय प्रविधिको सदुपयोग प्रतियोगिता सम्पन्न

754
shares

काठमाडौं, ८ मंसिर । एभरेष्ट इन्जिनियरिङ कलेज, सानेपा, ललितपुरमा समुदाय निर्देशित समाधानका लागि मानवीय प्रविधिको सदुपयोगसम्बन्धी प्रतियोगिता सम्पन्न भएको छ। अन्तर्राष्ट्रिय संस्था IEEE को Humanitarian Technologies विधाअन्तर्गत Technology for Social Impact शीर्षकमा आयोजित उक्त प्रतियोगितामा नेपालका १० वटा शैक्षिक तथा सामाजिक संस्थाका करिब ९० जना सहभागी भएका थिए।

अस्ट्रेलियास्थित युनिभर्सिटी अफ टेक्नोलोजी सिड्नी  (UTS)  का प्राध्यापक डा. सोजेन प्रधानको नेतृत्वमा आयोजित प्रतियोगितामा सहभागी टोलीहरूले समुदायका वास्तविक समस्या समाधान गर्न सक्ने, स्थानीय समुदायले सहजै प्रयोग गर्न र सञ्चालन गर्न सक्ने प्रविधिमा आधारित नवीन समाधानहरू विकास गरी प्रस्तुत गरेका थिए।

प्रतियोगितामा बोस्टन कलेज, युवा कनेक्टस्, पुल्चोक क्याम्पस, ख्वप इन्जिनियरिङ कलेज, ख्वप कलेज अफ इन्जिनियरिङ, कान्तिपुर इन्जिनियरिङ कलेज, काठमाडौं इन्जिनियरिङ कलेज, नेपाल इन्जिनियरिङ कलेज, एभरेष्ट इन्जिनियरिङ कलेज तथा नेपाल कलेज अफ इन्फर्मेसन टेक्नोलोजीका विद्यार्थी तथा सहभागीहरूको उपस्थिति रहेको थियो।

प्रतियोगिताको विशेषता भनेको सहभागीहरूले प्रतियोगिता स्थलमै आफूलाई दिइएको समस्याको पहिचान गरी केही घण्टाभित्र त्यसको समाधानका लागि प्रविधिको अवधारणा तथा डिजाइन विकास गरेर निर्णायक मण्डलसमक्ष प्रस्तुत गर्नु थियो। प्रत्येक संस्थाबाट दुईदेखि तीनवटासम्म प्रविधिमा आधारित समाधान प्रस्तुत गरिएका थिए। सीमित समयभित्रै सहभागीहरूले व्यावहारिक तथा समुदायमैत्री समाधान विकास गर्न सफल भएकोमा निर्णायकहरूले प्रशंसा व्यक्त गरेका थिए।

वर्ल्डलिंक कम्पनीका निर्देशक अनुपा भण्डारी जलान, वाइज याक कम्पनीका प्राध्यापक डा. सुरेश मानन्धर तथा विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयका सल्लाहकार सुनिल बानियाँ सम्मिलित तीन सदस्यीय निर्णायक मण्डलले प्रस्तुत समाधानहरूको मूल्याङ्कन गरेको थियो।

प्रतियोगितामा ख्वप इन्जिनियरिङ कलेजको “Design and Implementation of UHF Eggbeater Antenna for LoRa Disaster Communication” शीर्षकको परियोजना प्रथम भएको थियो भने युवा कनेक्टस्को “Community Forest Fire Mapping” परियोजना द्वितीय भएको थियो।

एभरेष्ट इन्जिनियरिङ कलेजका सहायक प्राचार्य इन्जिनियर राजन लामाले विजयी टोलीहरूलाई पुरस्कार वितरण गरेका थिए। प्रथम हुने टोलीका सदस्यहरू लूनिभा महर्जन, जानकी सिं, सलिना प्रजापति र सुजल प्रधानलाई जनही एक–एक थान ट्याब्लेट प्रदान गरिएको थियो। त्यसैगरी, द्वितीय हुने टोलीका सदस्यहरू हिमानी काफ्ले, शुभ राई, राजेश महत र मिरा लामिछानेलाई गिफ्ट ह्याम्पर प्रदान गरिएको थियो। कार्यक्रममा निर्णायक मण्डलका सदस्यहरूलाई कलेजका तर्फबाट मायाको चिनोसमेत प्रदान गरिएको थियो।

यस प्रतियोगिताले इन्जिनियरिङ तथा सूचना प्रविधिको ज्ञानलाई समुदायका वास्तविक आवश्यकता र समस्यासँग जोड्दै सामाजिक प्रभाव सिर्जना गर्न सक्ने नवीन प्रविधिको विकासमा विद्यार्थीहरूलाई प्रोत्साहित गरेको छ। साथै, मानवीय प्रविधिको प्रयोगमार्फत विपद् जोखिम न्यूनीकरण, वातावरण संरक्षण तथा समुदायको जीवनस्तर सुधारका लागि युवा इन्जिनियरहरूको सिर्जनशीलता र नवीन सोचलाई उजागर गर्ने अवसर प्रदान गरेको छ