Dhulikhel Eco Banner new

शाओमीको पहिलो एक्सक्लुसिभ स्टोर पोखरामा सञ्चालनमा

1.05K
shares

काठमाडौं, ८ मंसिर । चिनियाँ प्रविधि ब्रान्ड शाओमीले पोखरामा आफ्नो पहिलो एक्सक्लुसिभ स्टोर सञ्चालनमा ल्याएको छ। नेपालमा बजार विस्तार गर्ने उद्देश्यसहित टेलिडाइरेक्ट प्रा.लि.ले उक्त स्टोर सञ्चालनमा ल्याएको हो।

स्टोरमा शाओमीका स्मार्टफोन, विभिन्न एसेसरिज, स्मार्ट टिभी, भान्सामा प्रयोग हुने विद्युतीय उपकरण, व्यक्तिगत स्याहारका सामग्री, एयर प्युरिफायर, मनिटर तथा स्मार्ट होमसम्बन्धी अन्य उत्पादन उपलब्ध रहेको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार ग्राहकले स्टोरबाट शाओमीका विभिन्न उत्पादन अवलोकन तथा खरिद गर्न सक्नेछन्। स्मार्टफोनबाहेक कम्पनीका अन्य प्रविधि तथा घरायसी उपकरणलाई पनि एउटै स्थानमा उपलब्ध गराउने उद्देश्यले स्टोर सञ्चालनमा ल्याइएको हो।

नेपालमा शाओमीका होम अप्लायन्सेस तथा साना घरायसी विद्युतीय उपकरणको आधिकारिक वितरक रहेको टेलिडाइरेक्ट प्रा.लि.ले यस स्टोरमार्फत आफ्नो खुद्रा व्यवसाय विस्तार गरेको जनाएको छ।

कम्पनीले आगामी दिनमा एआईओटी उत्पादन, फ्रिज, वासिङ मेसिन, एयर कन्डिसनरलगायत स्मार्ट होमसम्बन्धी सामग्री थप गर्ने योजना बनाएको छ। पोखरामा सञ्चालनमा आएको स्टोरलाई नेपालका अन्य स्थानमा पनि एक्सक्लुसिभ स्टोर विस्तार गर्ने योजनाको सुरुवातका रूपमा कम्पनीले उल्लेख गरेको छ।

टेलिडाइरेक्ट प्रा.लि.का कार्यकारी निर्देशक सञ्जय अग्रवालले शाओमीका उत्पादनलाई स्मार्टफोनमा मात्र सीमित नराखी अन्य स्मार्ट प्रविधि तथा जीवनशैलीसँग सम्बन्धित सामग्री पनि उपभोक्तामाझ पुर्‍याउने उद्देश्य रहेको बताएका छन्। उनका अनुसार पोखरामा स्टोर सञ्चालनमा ल्याउनु कम्पनीको खुद्रा बजार विस्तार योजनाअन्तर्गतको कदम हो।

कम्पनीले आगामी दिनमा नेपालका विभिन्न स्थानमा खुद्रा बजार विस्तार गर्दै शाओमीका उत्पादनको उपलब्धता बढाउने योजना रहेको जनाएको छ।