Dhulikhel Eco Banner new

चार महिनामा व्यापार घाटा पौने ७ खर्ब नजिक, निर्यातमा ४३ प्रतिशतको वृद्धि

364
shares

काठमाडौं, ९ मंसिर । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिनामा नेपालको वैदेशिक व्यापार घाटा करिब पौने ७ खर्ब रुपैयाँ पुगेको छ । आयातमा उच्च वृद्धि हुँदा व्यापार घाटा फराकिलो बनेको हो । यद्यपि, यस अवधिमा निर्यात व्यापारमा भने ४३ प्रतिशतभन्दा बढीको वृद्धि देखिएको छ ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार साउनदेखि कात्तिकसम्म नेपालको कुल वैदेशिक व्यापार ३३.३३ प्रतिशतले बढेर ९ खर्ब ३७ अर्ब २४ करोड ४५ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्ष २०८२/८३ को सोही अवधिमा कुल वैदेशिक व्यापार ७ खर्ब २ अर्ब ९४ करोड ७० लाख रुपैयाँ रहेको थियो ।

निर्यात १ खर्ब ३४ अर्ब नाघ्यो

समीक्षा अवधिमा नेपालको निर्यात व्यापार ४३.४८ प्रतिशतले वृद्धि भएको छ । चार महिनामा नेपालबाट १ खर्ब ३४ अर्ब १४ करोड ५८ लाख रुपैयाँ बराबरका वस्तु तथा सेवा निर्यात भएका छन् । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो निर्यात ९३ अर्ब ४९ करोड ५७ लाख रुपैयाँ थियो ।

निर्यातको वृद्धिसँगै कुल वैदेशिक व्यापारमा यसको हिस्सा पनि बढेको छ । गत वर्षको पहिलो चार महिनामा कुल व्यापारमा निर्यातको हिस्सा १३.३० प्रतिशत रहेकोमा चालु आर्थिक वर्षमा बढेर १४.३१ प्रतिशत पुगेको छ ।

त्यस्तै, आयात–निर्यात अनुपातमा समेत सुधार देखिएको छ । गत वर्ष १ रुपैयाँ बराबरको वस्तु निर्यात गर्दा ६.५२ रुपैयाँको आयात हुने गरेकोमा चालु आर्थिक वर्षको समीक्षा अवधिमा यस्तो अनुपात घटेर ५.९९ रुपैयाँमा झरेको छ ।

आयातमा ३१.७७ प्रतिशतको वृद्धि

निर्यातमा उल्लेख्य सुधार देखिए पनि आयातको आकार ठूलो हुँदा व्यापार घाटा नियन्त्रणमा आउन सकेको छैन । भन्सार विभागका अनुसार पहिलो चार महिनामा आयात ३१.७७ प्रतिशतले बढेर ८ खर्ब ३ अर्ब ९ करोड ८७ लाख रुपैयाँ पुगेको छ ।

गत आर्थिक वर्ष २०८२/८३ को कात्तिकसम्म ६ खर्ब ९ अर्ब ४५ करोड १२ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको थियो ।

आयातको उच्च वृद्धिका कारण समीक्षा अवधिमा नेपालको व्यापार घाटा ६ खर्ब ६८ अर्ब ९५ करोड २९ लाख रुपैयाँ पुगेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको ५ खर्ब १५ अर्ब ९५ करोड ५४ लाख रुपैयाँको तुलनामा २९.६५ प्रतिशतले बढी हो ।

कुल वैदेशिक व्यापारमा आयातको हिस्सा भने गत वर्षको ८६.७० प्रतिशतबाट घटेर चालु आर्थिक वर्षमा ८५.६९ प्रतिशतमा झरेको छ ।

निर्यात बढे पनि व्यापार घाटाको चुनौती कायमै

आयातमा भएको तीव्र वृद्धिले स्वदेशी बजारमा उपभोग तथा औद्योगिक कच्चा पदार्थको माग बढेको संकेत गर्छ । तर, यसले विदेशी मुद्रा सञ्चिति र राष्ट्रिय पूँजी बाहिरिने दबाबलाई समेत कायम राखेको छ ।

निर्यात व्यापारमा ४३.४८ प्रतिशतको वृद्धि सकारात्मक भए पनि आयातको तुलनामा निर्यातको आकार अझै सानो रहेकाले व्यापार घाटा घटाउन पर्याप्त देखिएको छैन ।

भन्सार विभागका अनुसार उक्त व्यापारिक कारोबार कम्प्युटराइज्ड प्रणाली (आसिकुडा) लागू भएका २४ वटा प्रमुख भन्सार नाकाबाट भएको हो ।

निर्यातमा देखिएको सकारात्मक वृद्धिलाई निरन्तरता दिँदै उच्च मूल्य अभिवृद्धि भएका स्वदेशी उत्पादनको निर्यात विस्तार गर्न नसके व्यापार घाटाले मुलुकको बाह्य क्षेत्र सन्तुलनमा थप चुनौती सिर्जना गर्न सक्ने विश्लेषण गरिएको छ ।