Dhulikhel Eco Banner new

अनुसन्धान र नवप्रवर्तनमा लगानी सरकारको प्राथमिकता : मन्त्री पुन

169
shares

काठमाडौं, ९ मंसिर । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सुदृढ बनाउन अनुसन्धान र नवप्रवर्तनमा लगानी बढाउन सरकारले हरसम्भव प्रयास गरिरहेको बताएका छन् ।

काठमाडौंस्थित इजरायली दूतावासले मंगलबार दिउँसो आयोजना गरेको ‘इजरायल साइबर एन्ड आर्टिफिसियल इन्टेलिजेन्स’ विषयक कार्यक्रममा बोल्दै मन्त्री पुनले अनुसन्धान, नवप्रवर्तन र प्रविधिको विकासलाई अघि बढाउन सरकारले छुट्टै मन्त्रालय स्थापना गरेको बताए ।

उनले चालु सरकारले पहिलोपटक पुँजीगत खर्चको एक प्रतिशत रकम अनुसन्धान तथा नवप्रवर्तनका लागि विनियोजन गरेको जानकारी दिए । यसले अनुसन्धान र नवप्रवर्तनको क्षेत्रलाई सरकारले प्राथमिकतामा राखेको स्पष्ट हुने उनको भनाइ थियो ।

‘सम्माननीय प्रधानमन्त्री अनुसन्धान र नवप्रवर्तनमार्फत राष्ट्रलाई समृद्धिको दिशामा अघि बढाउन दृढ हुनुहुन्छ,’ मन्त्री पुनले भने ।

मन्त्री पुनले कृत्रिम बुद्धिमत्ता (एआई), साइबर सुरक्षा, ड्रोन, कृषि तथा बायोमेडिकल इन्जिनियरिङलगायत विभिन्न क्षेत्रमा नवप्रवर्तन केन्द्र स्थापना गर्ने सरकारको योजनाबारे समेत जानकारी गराए ।

कार्यक्रममा नेपालका लागि इजरायली राजदूत श्मुलिक एरी बासले साइबर सुरक्षा र कृत्रिम बुद्धिमत्ताको क्षेत्रमा इजरायलले हासिल गरेको अनुभव प्रस्तुत गरेका थिए । काठमाडौंस्थित इजरायली दूतावासद्वारा जारी प्रेस विज्ञप्तिअनुसार राजदूत बासले ज्ञान आदानप्रदान तथा संस्थागत साझेदारीमार्फत नेपालसँग प्रविधि र नवप्रवर्तनको क्षेत्रमा सहकार्य विस्तार गर्न इजरायल तयार रहेको बताए ।

कार्यक्रममा सहभागी चार सदस्यीय इजरायली प्रतिनिधिमण्डलले नेपाल–इजरायल सम्बन्धका साथै कृत्रिम बुद्धिमत्ता र नवप्रवर्तनका विभिन्न पक्षमा छलफल तथा विचार आदानप्रदान गरेको थियो ।

प्रतिनिधिमण्डलले नेपालको भौगोलिक बनावट र अनुकूल हावापानीलाई आधार मान्दै नेपाल साइबर सुरक्षाको केन्द्र (हब) बन्न सक्ने सम्भावना रहेको समेत औंल्याएको थियो ।