Dhulikhel Eco Banner new

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु, पीडितको संरक्षण र न्याय सुनिश्चिततामा जोड

975
shares

काठमाडौं, ९ मंसिर । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म सञ्चालन हुँदैछ। अभियानका अवसरमा जारी शुभकामना सन्देशमा लैङ्गिक हिंसा न्यूनीकरण, पीडितको संरक्षण, न्यायमा पहुँच र दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन सरकार, निजी क्षेत्र, नागरिक समाज तथा सरोकारवाला निकायबीच समन्वय र सहकार्य आवश्यक रहेको उल्लेख गरिएको छ।

संयुक्त राष्ट्रसङ्घको अन्तर्राष्ट्रिय नारासहित नेपालमा ‘लैङ्गिक हिंसा अन्त्यका लागि ऐक्यबद्धता : पीडितको संरक्षण, दण्डहीनताको अन्त्य र न्यायको सुनिश्चितता’ भन्ने राष्ट्रिय संकल्पका साथ अभियान सुरु भएको हो। अभियानका सन्दर्भमा प्रधानमन्त्री बालेन्द्र शाहले यसको प्रभावकारी कार्यान्वयनका लागि सरकारी तथा गैरसरकारी क्षेत्र, सञ्चारमाध्यम, राजनीतिक दल, अभियन्ता र आम नागरिकको सहभागिताका लागि आह्वान गरेका छन्।

सन्देशमा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सीमान्तकृत समुदाय लैङ्गिक हिंसाबाट प्रभावित हुने समूहका रूपमा उल्लेख गर्दै यस्ता घटनाले मानव अधिकार, सामाजिक न्याय, मानव पूँजी निर्माण तथा आर्थिक विकासमा असर पार्ने विषय समेटिएको छ। साथै, डिजिटल माध्यमबाट हुने हिंसालाई पछिल्लो समयको चुनौतीका रूपमा उल्लेख गर्दै पीडितको सुरक्षा, कानुनी उपचार र दोषीमाथि प्रचलित कानुनअनुसार कारबाहीको आवश्यकता औँल्याइएको छ।

नेपाल सरकारले लैङ्गिक हिंसाप्रति शून्य सहनशीलताको नीति अवलम्बन गरेको उल्लेख गर्दै सन्देशमा कानुनी तथा संस्थागत संरचनाको सुदृढीकरण, महिला सशक्तीकरण, बालिका शिक्षाको प्रवर्द्धन र पीडितको आर्थिक तथा सामाजिक पुनर्स्थापनालाई प्राथमिकतामा राखिएको जनाइएको छ। यी प्रयासको कार्यान्वयनका लागि सङ्घ, प्रदेश र स्थानीय तहका सरकार, निजी क्षेत्र तथा सम्बन्धित निकायबीच समन्वय र जवाफदेहिता आवश्यक रहेको पनि सन्देशमा उल्लेख छ।

यसैगरी, गत भदौमा भोटेकोशी क्षेत्रमा आएको बाढीको सन्दर्भ उल्लेख गर्दै विपद्का समयमा महिला तथा बालबालिकामाथि लैङ्गिक हिंसा र आर्थिक असुरक्षाको जोखिम बढ्न सक्नेतर्फ ध्यानाकर्षण गराइएको छ। विपद्पछिको राहत वितरण, संरक्षण तथा पुनर्स्थापनाका कार्यक्रममा लैङ्गिक दृष्टिकोण समावेश गर्नुपर्ने आवश्यकता पनि औँल्याइएको छ।

अभियानअन्तर्गत सञ्चालन हुने कार्यक्रमहरूमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घसंस्था, नागरिक समाज, निजी क्षेत्र, सञ्चारमाध्यम, राजनीतिक दल, अभियन्ता र सर्वसाधारणको सहभागिताका लागि आह्वान गरिएको छ।