Dhulikhel Eco Banner new

नेपाल बैंकर्स संघको अध्यक्षमा सुरेन्द्रराज रेग्मी निर्विरोध निर्वाचित

741
shares

काठमाडौं, ११ मंसिर । ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्रराज रेग्मी नेपाल बैंकर्स संघको नयाँ अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् । संघको शुक्रबार सम्पन्न साधारणसभाले रेग्मीलाई अध्यक्षमा चयन गरेको हो ।

यसअघि संघको उपाध्यक्ष रहेका रेग्मीले माछापुच्छ्रे बैंकका सीईओ तथा निवर्तमान अध्यक्ष सन्तोष कोइरालाको दुईवर्षे कार्यकाल पूरा भएपछि नेतृत्व सम्हालेका हुन् ।

त्यस्तै, कुमारी बैंकका सीईओ रामचन्द्र खनाल संघको नयाँ उपाध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् । यसअघि कार्यसमितिका सदस्य रहेका खनाल उपाध्यक्षमा पदोन्नति भएका हुन् । उनको पदोन्नतिपछि कार्यसमितिमा रिक्त भएको सदस्य पदमा नयाँ सदस्य नियुक्त गरिनेछ ।

संघले सिद्धार्थ बैंकका सीईओ रामेश्वर बस्याल र सानिमा बैंकका सीईओ पवनकुमार आचार्यलाई कार्यसमिति सदस्यका रूपमा चयन गरेको छ ।

नेपाल बैंकर्स संघको कार्यसमिति तत्कालीन निवर्तमान अध्यक्षसहित १० सदस्यीय रहने व्यवस्था छ । लक्ष्मी सनराइज बैंकका सीईओ अजयविक्रम शाह बाहिरिएपछि कार्यसमितिको एक सदस्य पद रिक्त रहेको थियो ।

त्यस्तै, एभरेष्ट बैंकका सीईओ सुदेश खालिङले संघको कार्यसमितिमा दुई कार्यकाल पूरा गरेका छन् । नेपाल बैंकका सीईओ तिलकराज पाण्डे भने अर्को कार्यकालका लागि पनि कार्यसमिति सदस्यका रूपमा निरन्तर रहने भएका छन् ।

उपेन्द्र पौडेललाई लाइफटाइम एचिभमेन्ट अवार्ड

संघको साधारणसभाले पूर्वबैंकर उपेन्द्र पौडेललाई नेपालको बैंकिङ क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै लाइफटाइम एचिभमेन्ट अवार्डबाट सम्मान गर्ने भएको छ ।

नयाँ नेतृत्व चयनसँगै नेपाल बैंकर्स संघले वाणिज्य बैंकहरूको साझा प्रतिनिधिमूलक संस्थाका रूपमा आफ्नो भूमिका निरन्तर अघि बढाउनेछ । बैंकिङ क्षेत्रका नीतिगत तथा नियामकीय विषयमा छलफल गर्ने प्रमुख साझा मञ्चका रूपमा संघले काम गर्दै आएको छ ।