Dhulikhel Eco Banner new

अब नेप्सेको वेबसाइटमै देखिनेछ मार्जिन कारोबारको एकीकृत विवरण

845
shares

काठमाडौं, ११ मंसिर । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले मार्जिन कारोबार सुविधाअन्तर्गत हुने सेयर कारोबारको एकीकृत विवरण आगामी सातादेखि आफ्नो आधिकारिक वेबसाइटमा सार्वजनिक गर्ने भएको छ ।

दोस्रो बजारमा मार्जिन कारोबारसम्बन्धी सूचना प्रवाहलाई पारदर्शी, व्यवस्थित र सुदृढ बनाउने उद्देश्यले यस्तो व्यवस्था गर्न लागिएको नेप्सेले जनाएको छ ।

नेप्सेका प्रवक्ता मुराहरि पराजुलीद्वारा जारी सूचनाअनुसार ‘मार्जिन कारोबार सुविधा सम्बन्धी कार्यप्रक्रिया’ को परिच्छेद–८, दफा २१ मा रहेको सूचना सम्प्रेषणसम्बन्धी व्यवस्थालाई पूर्ण रूपमा कार्यान्वयनमा ल्याउन लागिएको हो ।

ब्रोकरले १२ बजेभित्र विवरण बुझाउनुपर्ने

कार्यप्रक्रियाअनुसार धितोपत्र दलाल व्यवसायी (कारोबार सदस्य) ले मार्जिन कारोबार सुविधाअन्तर्गत गरेको सेयर कारोबारको विवरण अनुसूची–४ बमोजिमको ढाँचामा अर्को कारोबार दिनको मध्याह्न १२ बजेभित्र नेप्सेलाई उपलब्ध गराउनुपर्नेछ ।

त्यसरी कारोबार सदस्यबाट प्राप्त विवरणलाई नेप्सेले एकीकृत गरी अनुसूची–५ को ढाँचामा अर्को कारोबार दिनभित्रै आफ्नो वेबसाइटमार्फत सार्वजनिक गर्नुपर्ने कानुनी व्यवस्था छ ।

सोही प्रावधान कार्यान्वयनका लागि आवश्यक प्राविधिक व्यवस्था मिलाइएको र आगामी सातादेखि सरोकारवाला तथा आम लगानीकर्ताले वेबसाइटबाटै उक्त विवरण हेर्न सक्ने नेप्सेले स्पष्ट पारेको छ ।

मार्जिन कारोबारको अवस्थाबारे जानकारी पाउन सहज हुने

हालसम्म ब्रोकरमार्फत हुने मार्जिन कारोबारको एकीकृत विवरण नियमित रूपमा सार्वजनिक नहुँदा बजारमा कुन कम्पनीको सेयरमा कति मार्जिन सुविधा प्रवाह भइरहेको छ भन्ने तथ्य स्पष्ट रूपमा उपलब्ध हुन सकेको थिएन ।

नेप्सेको नयाँ व्यवस्थापछि लगानीकर्ताले पूँजी बजारमा मार्जिन ट्रेडिङको वास्तविक अवस्था, जोखिम तथा कारोबारको आयतनबारे अद्यावधिक जानकारी प्राप्त गर्न सहज हुने अपेक्षा गरिएको छ ।

यसबाट दोस्रो बजारमा सूचनाको पारदर्शिता बढ्नुका साथै लगानीकर्तालाई लगानीसम्बन्धी निर्णय लिन थप सहयोग पुग्ने विश्वास नेप्सेले व्यक्त गरेको छ ।