Dhulikhel Eco Banner new

भरतपुर आँखा अस्पताललाई ‘आइएसओ’ चिह्न

6.23K
shares

काठमाडौं, ९ साउन । नेपाल नेत्रज्योति सङ्घ चितवनद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालले आइएसओ ९००१ः२०१५ गुणस्तर चिह्न प्राप्त गरेको छ । अस्पतालले गुणस्तरीय व्यवस्थापन गरेबापत यो अन्तर्राष्ट्रिय गुणस्तर चिह्न प्राप्त गरेको हो ।

आइतबार साँझ यहाँ आयोजित एक कार्यक्रममा युनाइटेड रजिष्ट्रार्ड युआर का देशीय निर्देशक प्रकाश पौडेलले नेपाल नेत्रज्योति सङ्घ तथा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णराज धरेललाई प्रमाणपत्र हस्तान्तरण गरेका हुन ।

सो अवसरमा भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले अस्पतालले अन्तर्राष्ट्रिय गुणस्तर पाउनु खुसीको कुरा भएको बताए। अस्पतालले लिएको दिगो विकासको लक्ष्य प्राप्तिको कामना गर्दै प्रमुख दाहालले यो चिह्न प्राप्तिसँग चुनौती थपिएको बताए । उनले भने, “यो गुणस्तर चिह्नले भरतपुरलाई अन्तर्राष्ट्रिय जगत्मा चिनाएको छ ।”

भरतपुर महानगर र भरतपुर आँखा अस्पताल सहयात्री भएको बताउँदै उनले भने, “अस्पतालको भवन निर्माणका लागि केही प्रक्रिया अगाडि बढेका छन् । हामीले गरेको प्रतिबद्धताअनुसारको त्यो जिम्मेवारी पूरा गर्नेर्छौं ।”

कार्यक्रममा जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायण अधिकारीले अस्पतालले प्राप्त गरेको अन्तर्राष्ट्रिय गुणस्तर चिह्न खुसीको विषय भएको बताउँदै यो खुशियालीलाई कायम राख्नुपर्ने बताए । नेपाल नेत्रज्योति सङ्घका केन्द्रीय महासचिव भरतबाबु चन्दले अस्पतालको सेवामा अझै गुणस्तरीयता विस्तार गर्नुपर्ने बताए । उनले भने, “हामी गुणस्तरमा सम्झौता गर्दैनौँ, भरतपुर आँखा अस्पताललाई अन्तर्राष्ट्रिय स्तरको बनाउने सोच छ ।” नेपालको आँखा उपचारको क्षेत्रमा सङ्घद्वारा सञ्चालित अस्पतालको सेवा ९० प्रतिशत रहेको जानकारी दिँदै चन्दले अस्पतालको स्तरोन्नतिका लागि केन्द्रबाट पूर्ण सहयोग हुने प्रतिबद्धता व्यक्त गरे ।