Dhulikhel Eco Banner new

स्वदेश फर्किए श्रीलंकाका पूर्वराष्ट्रपति गोटाबाया राजापाक्षे

5.15K
shares

काठमाडौं, १८ भदौ । श्रीलंकाका पूर्वराष्ट्रपति गोटाबाया राजापाक्षे स्वदेश फर्किएका छन् । देशमा आर्थिक संकटका कारण भएको हिसाँ चर्किएपछि देश छोडेका राजापाक्षे स्वदेश फर्किएका हुन् ।

राजापाक्षे स्वदेश फर्किएको कोलम्बो विमानस्थलका अधिकारीले पुष्टि गरेको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । राजापाक्षे विमानस्थलमा उत्रदा मन्त्रीहरू र राजनीतिज्ञको समूहले स्वागत गरेका थिए । राजधानी कोलम्बोको राष्ट्रपति भवन र अन्य सरकारी कार्यालय प्रदर्शनकारीले कब्जा गरेपछि ७३ वर्षीय राजापाक्षे देश छोडेर भागेका थिए ।

श्रीलंका एअरफोर्सको विमानबाट माल्दिभ्स पुगेका उनी त्यहाँबाट सिंगापुर पुगेका थिए । सिंगापुरमै रहेका बेला राजापाक्षेले जुलाइ १३ मा पदबाट राजीनामा गरेका थिए । श्रीलंकामा पछिल्ला वर्ष विदेशी मुद्रामा आएको गिरावटका कारण खाद्यान्न र इन्धनको चरम अभाव छ । खाद्यान्न र इन्धनको मूल्यमा भएको वृद्धिपछि गएको अप्रिलमा आन्दोलन सुरु भएको थियो ।