Dhulikhel Eco Banner new

सदगुरुको सम्मानमा देशभर ३० हजार वृक्षरोपण गर्छौं : वनमन्त्री यादव

4.51K
shares

काठमाडौँ, १८ भदौं । “सेभ सोइल” अर्थात् माटो जोगाऔँ अभियानसँग नेपाल सरकारको वन तथा वातावरण मन्त्रालयले ऐक्यबद्धता जनाएको छ ।

अभियानका लागि नेपाल आउनुभएका प्रसिद्ध सदगुरुलाई वन तथा वातावरणमन्त्री प्रदीप यादवले मन्त्रालयको तर्फबाट जारी गरिएको पत्र हस्तान्तरण गरेर अभियानसँग ऐक्यबद्धता जनाएका छन् ।

हिजो शुक्रबार साझ ललितपुर जिल्लाको गोदावरीमा आयोजना गरिएको एक कार्यक्रममा वनमन्त्री यादवले माटो जोगाऔँ अभियानका लागि सदगुरुले गर्नु भएको तीस हजार किलोमीटर यात्रालाई सम्मान गर्न र सघाउन वन मन्त्रालयमार्फत देशभरीमा कम्तिमा पनि तीस हजार वृक्षरोपण गर्ने प्रतिबद्धता समेत गरे ।

“तपाईको अभियानमा मन्त्रालय सधै हातेमालो गरेर अगाडि बढ्न तयार छ, तपाईले गरेको राम्रो काममा हाम्रो ऐक्यबद्धता छ,” मन्त्री यादवले भने, “वृक्षरोपणको कार्यको पनि भदौं महिना भित्रै सुरवात गरेर हामी आफ्नो वचनलाई पूरा गर्छौं ।”

उक्त अभियानका प्रमुख जग्गी वासुदेवलाई नेपालमा स्वागत गर्न पाउँदा आफु निकै खुशी भएको मन्त्री यादवले बताए । माटो जोगाएर पृथ्वीको खेतीयोग्य माटोमा जैविक शक्ति बढाउनका लागि सदगुरु जग्गीले चलाउनु भएको महाअभियानको जती प्रशंसा गरेपनी कम हुने मन्त्री यादवको भनाई थियो ।

सदगुरुलाई यादवले ऐक्यबद्धता पत्र हस्तान्तरणसँगै संसारको र्दुलभ एक सिंगे गैडाको मुर्ति पनि उपहारका स्वरूपमा प्रदान गरेका थिए । “माटो विनाश हुनबाट जोगाउन तत्काल नीतिगत पहलका लागि जनचेतना जगाउन र राजनीतिक सहमति निर्माण गर्न संसारका विभिन्न राष्ट्र घूमेर जून कार्य गर्नु भएको छ त्यो अतिनै प्रशंसनीय छ” मन्त्री यादवले भने, “सदगुरुले गर्नु भएको काम, खासगरी हामी राजनीगिज्ञहरुको काम हो, हामीले गर्नु पर्ने काम उहाँले गरिरहनु भएको छ, यो भन्दा अरु खुशीको कुरा के होला ?”