सोलु हाइड्रोपावरको शेयरको लकइन साउन ११ गतेपछि सकिने
वि.सं.२०८३ असार ५ शुक्रवार १६:३०
shares

काठमाडौं, ५ असार । सोलु हाइड्रोपावर लिमिटेडको ५ लाख कित्ता शेयरको लकइन आगामी साउन ११ गतेपछि सकिने भएको छ । सामूहिक लगानीकोषको स्वामित्वका रहेको यी शेयर थप सर्वसाधारणमा आईपीओ बाँडफाँट भएको मिति गत माघ १२ गतेदेखि लकइनमा रहेको थियो । सर्वसाधारणमा आईपीओ बाँडफाँट भएको मितिदेखि ६ महिनासम्म सामूहिक लगानीकोषको स्वामित्वमा रहेको शेयर लकइनमा रहने व्यवस्था छ । आगामी साउन ११ गतेपछि भने यी शेयर कारोबारयोग्य हुनेछन् ।
दोस्रो बजारमा कम्पनीको कुल १० करोड शेयर सूचीकृत रहेको छ । हाल सर्वसाधारणतर्फको २० प्रतिशत शेयरमध्ये थप सर्वसाधारण र वैदेशिक रोजगारीमा रहेका नेपालीको स्वामित्वमा रहेका शेयर मात्र कारोबार भैरहेका छन् । कम्पनीले थप सर्वसाधारणतर्फ ८२ लाख कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीतर्फ १० लाख कित्ता शेयर स्वामित्व छ । आयोजना प्रभावित स्थानीयतर्फको १ करोड कित्ता र कर्मचारीतर्फको ३ लाख कित्ता शेयर समेत संस्थापक तर्फको ८ करोड कित्ता शेयर भने तीन वर्षसम्मका लागि लकइनमै छन् ।
यस कम्पनीले सोलुखुम्बु जिल्लाको सोलु खोलाको पानी उपयोग गरी ८२ मेगावाट क्षमताको तल्लो सोलु जलविद्युत आयोजना निर्माण सम्पन्न गरी व्यापारिक उत्पादन गर्न शुरु गरिसकेको छ । यस आयोजनाबाट २०८२ साल साउन २४ गतेदेखि व्यापारिक उत्पादन शुरु भएको हो । यस आयोजनाको कुल निर्माण लागत १६ अर्ब ३० करोड ४० लाख रुपैयाँ छ भने प्रतिमेगावाट लागत १९ करोड ८८ लाख रुपैयाँ छ ।
















