सरकारलाई कुचोको कुरा सुनाउनु पर्छ, नगद अनुदानका लागि पहल गछौँ : अध्यक्ष कार्की
वि.सं.२०७९ भदौ २१ मंगलवार २०:०८
shares

काठमाडौं, २१ भदौ । नेपाल कुचो संघका अध्यक्ष राज कुमार कार्कीले सरकारलाई कुचोको कुरा सुनाउनु पर्ने बताएका छन् । विदेशबाट आयात गरेको सामानको व्यापार गर्नेलाई सरकारले प्रोत्साहन दिने गरेको भन्दै स्वदेशमा नै उतपादन गरेर विदेश निर्यात हुने कुचोमा सरकारले विभेद गरेको उनले बताएका हुन् ।
सरकारले विदेश निर्यात हुने वस्तुमा नगद सहुलियत दिने गरेको भन्दै अहिले सम्म कुचो व्यवसायीहरुले यस्तो सहुलियत पाउन नसकेको भन्दै सरकारले गम्भिर ध्यानाकर्षण गराउनु पर्ने उनको भनाइ थियो । नेपाल कुचो संघको पहिलो वार्षिक उत्सब कार्यक्रमको अवसरमा अध्यक्ष कार्कीले सिंगो संघ मिलेर सरकारलाई झक्झकाउनु पर्ने आवश्यकता रहेको बताए ।

‘सबैले अनुदान पाएका छन्, कुचो व्यवसायीहरुले मात्रै पाउन सकेका छैनन्, यसका लागि नयाँ नेतृत्वले पहल गर्छ, त्यसका लागि सबैको साथ आवश्यक हुन्छ,’ उनले भने । अर्को प्रशंगमा अध्यक्ष कार्कीले कुचो व्यवसायलाई मर्यादित बनाउनु पर्ने आवश्यकता रहेको समेत बताए । त्यस्तै नयाँ नेतृत्वका अगाडि आगामी समयमा संगठनलार्य सांगठनिक बनाउने र साना मझौला व्यवसायीलाई जोडेर उनीहरुको आर्थिक अवस्था सुधार गर्नु पर्ने चुनौती रहेको उनको भनाइ थियो ।
‘एक वर्ष भनेको निकै छोटो समय हो, अहिले नै सबै हुन्छ भन्ने होइन, धर्यता राखेर एकताका साथ अघि बढेको खण्डमा कुचो संघले सफलता प्राप्त गर्छ,’ उनले भने । दुई वर्षको कार्यकालमा संघका सदस्यहरुको क्षमता अभिवृद्धिका लागि काम गर्ने उनको प्रतिबद्धता रहेको थियो । साथै उनले संघमा आउँदा राजनीति, धर्म र जातका कुरा नल्याउन पनि उनले सदस्यहरुलाई आग्रह गरे ।
संघका उपाध्यक्ष रविन्द्र खड्काले एक वर्षको छोटो अवधिमा अधिवेशन सम्पन गर्नु गौरवको कुरा भएको बताए । नयाँ यात्रामा प्रवेश गरेकाले सवैलाई समेटेर अगाडि बढ्न संघ तयार रहेको उनको भनाइ छ । संघले व्यवसायीको हितका लागि काम गर्ने उनले बताए ।
प्रथम वार्षिक उत्सबमा वरिष्ठ निर्वाचन अधिकृत कुमार अधिकारीले यो मौलिक संघ भएको बताए । अरु व्यवसाय विदेशबाट आयात गरेर स्वदेशमा बिक्री गर्ने व्यवसाय भए पनि कुचो भने नेपालबाट विदेशमा निर्यात मात्र हुने उनको भनाइ थियो । कुचो संघको विकासका लागि सबै एकसाथ लाग्नु पर्ने उनको धारणा थियो ।

नेपालमा विदेशमा जस्तो औद्योगिककरण नभएर कृषिबाट बजारीकरणमा गएको उनको तर्क थियो । जसका कारण नेपालको व्यापार घाटा निकै बढी रहेको उनले बताए । पञ्चायत कालमा नेपालको व्यापार घाटा नरहेको बताएका उनले मौलिक वस्तुको उत्पादन र प्रवद्र्धनमा सबै लाग्नु पर्ने बताएका थिए ।
उनले स्थानीय सरकारले बाँझा रहेका बारीहरुमा अम्लिसो खेती गर्नका लागि किसानलाई प्रत्साहन गर्नु पर्ने समेत बताए । संघले वार्षिक उत्सबको अवसरमा नयाँ कार्यसमितका सदस्यहरुलाई प्रमाण पत्र प्रदान गरेको थियो । २७ सदस्यी संघका कार्यसमिति सदस्यहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।
भदौ ४ गते भएको संघको अधिवेशनले राजकुमार कार्कीको अध्यक्षतामा २७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको थियो । नयाँ कार्य समितिको बरिष्ठ उपाध्यक्षमा खेम पोखरेल चयन भएका थिए । सर्वसम्मत रुपमा चयन भएको नयाँ नेतृत्वमा रविन्द्र खड्का, शुवास बोलखे र मात्रिका घिमिरे चयन भएका थिए ।
त्यस्तै महासचिवमा धनपती पोखरेल, सचिवमा सुशिल गौतम र राजीव रौनियार तथा कोषाध्यक्षमा रुष्मा खतिवाडा चयन भएका थिए । उनीहरु सहति सबैलाई निर्वाचन अधिकृत कुमार अधिकारी र टंक कट्टले प्रमाण पत्र प्रदान गरेका थिए ।
















