Dhulikhel Eco Banner new

लघुवित्तले ग्रामीण क्षेत्रमा वित्तीय साक्षरता पुर्‍याए : कामु गभर्नर ढुङ्गाना

4.76K
shares

काठमाडौं, २१ भदौ । राष्ट्र बैंकका कामु गभर्नर निलम ढुङ्गानाले ग्रामीण क्षेत्रमा वित्तीय साक्षरता पुर्‍याउनमा लघुवित्तहरुले ठूलो भूमिकका खेलेको बताएकि छन् । मंगलबार काठमाडौंमा आयोजित डा. हरिहरदेव पन्तको सातौँ स्मृतिदिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै कामु गभर्नर ढुङ्गानाले सर्वसाधारणसम्म वित्तीय पहुँच पुर्‍याउन सहयोग गरेको बताएकि हुन् ।

लघुवित्तले लघुउद्यमलाई टेवा पुर्‍याएको र ठूलो मात्रामा महिलाहरुलाई आत्मनिर्भर बनाउने कार्य गरेको भन्दै ढुङ्गानाले लघुवित्तको प्रशंसा गरेकी छन् । लघुवित्तको क्षेत्रमा डा. पन्तको भूमिका अतुलनीय रहेको भन्दै लघुवित्तहरुले पन्तको अनुसरण गर्नु पर्ने उनको भनाइ थियो ।

रोजगारी सिर्जना गर्नका लागि पनि लघुवित्तको अतुलनीय भूमिका रहेको उनले बताइन् । कार्यक्रममा सहभागिहरुले हरिहरदेव पन्तले दिएको मार्गदर्शनलाई पालना गर्नु पर्ने धारणा व्यक्त गरेका थिए । कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर गणेश बहादुर थापाले लघुवित्तको क्षेत्रमा डा. पन्तको भूमिका अतुलनीय रहेको बताए । पन्तलाई सच्चा श्रद्धाञ्जली दिने हो भने उनले लिएको बाटामा हिड्नु पर्ने उनको भनाइ थियो ।

त्यस्तै निर्धन संस्थाका सञ्चालक प्रा.डा फत्त बहादुर के.सी.ले डा. पन्त सधै भरि नेपालीको मन मष्तिष्कमा रहीरहने बताएका छन् । भौतिक शरीर नभए पनि डा. पन्तको बाटा पछ्याएकाहरुको आर्थिक अवस्थामा निकै सुधार आएकाले उनीहरुले सधै सम्झिरहने बताए । पन्तले छोडेका अधुरा कामहरुलाई पुरा गर्नु नै डा.पन्त प्रति सच्चा श्रद्धाञ्जली हुने केसीको भनाइ छ ।

उनले माईक्रो फाइनान्स क्षेत्रमा पु¥याएको योगदानलाई सधै सम्झनु पर्ने लघुवित्त संघ नेपालका अध्यक्ष जगत बहादुर पाखरेलको भनाइ थियो । पन्तले देखाएको बाटोमा हिड्नका लागि आफू सधै तयार रहेको उनले बताए ।

नेपाल लघुवित्त वैकर्स संघका अध्यक्ष प्रकाश राज शर्माले डा. पन्त लघुवित्तका पिता रहेको चित्रण गरे । पन्तले सुरु गरेको लघुवित्तका क्षेत्रमा अहिले धेरै जना सहभागी रहेको र त्यसबाट आर्थिक लाभ लिन सफल भइरहेको उनको भनाइ छ ।

त्यस्तै सेजनका अध्यक्ष जनार्दन बरालले पछिल्लो समय लघुवित्तहरु मर्मअनुसार नचलेको हो कि भन्ने भान भएको भन्दै पवित्र उद्देश्य राखेर लघुवित्त संस्थाहरुले काम गरेको खण्डमा डा. पन्त प्रति सच्चा श्रद्धाञ्जली हुने उनको भनाइ छ । पन्तले जुन उद्देश्यले यो कार्य सुरु गरेका थिए त्यसलाई निरन्तरता दिनु पर्ने उनले बताए ।

कार्यक्रममा सात वटै प्रदेशबाट एक–एक जनालाई डा. हरिहर देव पन्त लघु उद्यमशीलता पुरस्कार प्रदान गरिएको छ । त्यस्तै डा. हरिहर देव पन्त फाउण्डेसनले प्रदान गर्ने डा. हरिहरदेव पन्त आर्थिक पत्रकारिता पुरस्कारबाट सेतोपाटीका वरिष्ठ संवाददाता विजयराज खनालाई पुरस्कृत गरिएको छ । त्यस्तै डा.हरिहर देव पन्त शैक्षिक उत्कृष्टता पुरस्कार तर्फ अर्थशास्त्र तर्फ मौद्रिक अर्थशास्त्रमा स्नातकोत्तर गरेका जीवन पोख्रेललाई र ग्रामिण विकास तर्फ स्नातकोत्तर गरेकी दिक्षा राणालाई प्रदान गरिएको छ ।

बागमती प्रदेशबाट उत्कृष्ट लघुउद्यम पुरस्कार प्राप्त गर्ने सानुमैया सार्कीलाई कार्यक्रममा नै पुरस्कार वितरण गरिएको थियो भने अन्य प्रदेशबाट पुरस्कार पाउनेहरुलाई सम्बन्धित शाखाबाट नै पुरस्कार हस्तान्तरण गरिएको थियो ।

जसमा प्रदेश नम्बर १ बाट गितादेवी साह, मधेश प्रदेशबाट शान्तिदेवी चौधरी, बागमती प्रदेशबाट सानुमयौ सार्की र गण्डकी प्रदेशबाट शारदा पौडेललाई डा. हरिहरदेव पन्त लघुउद्यमशील पुरस्कार प्रदान गरिएको छ । त्यस्तै लुम्बिनी प्रदेशबाट करमकासी चौधरी, कर्णाली प्रदेशबाट गिता नेपाली र सुदूरपश्चिम प्रदेशबाट अयोध्या देवी डगौरालाई यो पुरस्कार प्रदान गरिएको छ । सबै पुरस्कारको राशी रु ५० हजार नगद र सम्मान पत्र रहेको छ ।

कार्यक्रमको समापन गर्दै निर्धन उथ्यान लघुवित्त वित्तीय संस्थाका अध्यक्ष शरदनिधि तिवारीले कार्यक्रमको समापन गर्दै डा.पन्तको बाटोमा सधै हिड्ने प्रतिबद्धता व्यक्त गरे ।