Dhulikhel Eco Banner new

एक दर्जन कम्पनी कालोसूचीमा

5.67K
shares

काठमाडौं, २७ भदौ । समयमा निर्माणको कार्य सम्पन्न नगर्ने १२ वटा कम्पनी कालोसूचीमा परेका छन् । सार्वजनिक निकायले बारम्बार तोकेता गर्दा पनि समयमा निर्माण सम्पन्न नगरेको ती कम्पनीहरुलाई कालोसूचीमा राखिएको हो ।

सोमबार सार्वजानिक खरिद अनुगमन कार्यालयले एक सूचना जारी गर्दै १२ वटा निर्माण व्यवसायीलाई कालोसूचीमा राखेको जनाएको छ । कालोसूचीमा परेको कम्पनीले सार्वजनिक खरिदमा सहभागी हुन पाउने छैन ।

कालोसूचीमा रहेका कम्पनीहरुमा देवेन्द्र तेल उद्योग, धर्यता निर्माण कम्पनी, किसान–रक्ताकाली पावर क्वालिटी जेभी, हर्कदेवी बिल्डर्स र प्यासेफिक कन्स्ट्रक्सन एन्ड कन्सल्टेन्सी रहेका छन् । यसैगरी पृथ्वी कन्स्ट्रक्सन, रन्नुभन्नु कन्स्ट्रक्सन एन्ड सप्लायर्स, रोज कन्स्ट्रक्सन, सानोभेरी निर्माण सेवा, लामा बिल्डर्स कम्पनी, च्याङला कन्स्ट्रक्सन र सुन्दरी निर्माण सेवा रहेका छन् ।

यी कम्पनीले सडक, सहरी विकासको भवन, दुग्ध संस्थानलगायतको काम समयमा नगरेका कारण कालोसूचीमा राखिएको हो । कार्यालयले एक वर्ष देखि एक वर्ष ६ महिनाको समयका लागि यी कम्पनीलाई कालोसूचीमा राखिएको जनाएको छ । अब यी कम्पनीले डेढ वर्षसम्म कुनै पनि सार्वजनिक खरिद प्रक्रियामा भाग लिन पाउने छैनन् ।