काठमाडौं महानगरपालिकाले उठायो ८४ लाख बढी मनोरञ्जन कर
वि.सं.२०७९ भदौ २८ मंगलवार १५:००
shares

काठमाडौं, २८ भदौ । काठमाडौं महानगरपालिकाले ८४ लाख बढी मनोरञ्जन कर असुलि गरेको छ । महानगरपालिकाले ६ वटा संस्थाबाट ८४ लाख ३४ हजार ९३१ रुपैयाँ राजश्व संकलन गरेको हो ।
महानगरपालिकाले ४५ वटा संस्थालाई राजश्व बुझाउन पत्र काटेकोमा अहिलेसम्म ६ वटा संस्थाले मनोरञ्जन कर बुझाएका छन् । महानगरलाई मनोरञ्जन कर बुझाउने संस्थामा काठमाडौं फन पार्क र ५ वटा क्यासिनो रहेका छन् ।
महानगरलाई मनोरञ्जन कर तिर्ने क्यासिनोमा डेल्टिन क्यासिनो, क्यासिनो प्यालेस, प्राइड इन्टरटेन्मेन्ट एण्ड रिक्रीयसन, बेलिज क्यासिनो र माजोङ्ग इन्टरटेनमेन्ट रहेका छन् । महानगरपालिकाले पत्र काटेकामध्ये क्यासिनो र्याट र रोयल क्यासिनो अहिले बन्द रहेका छन् ।
महानगरपालिकालाई फन पार्कले १७ लाख ३६ हजार ११ रुपैयाँ मनोरञ्जन कर बुझाएको छ । त्यस्तै डेल्टिन क्यासिनोले २१ लाख ४२ हजार ३४ रुपैयाँ, क्यासिनो प्यालेसले ११ लाख ८५ हजार ४६३ रुपैयाँ र प्राइड इन्टरटेन्मेन्टले ९ लाख ८९ हजार ४६० रुपैयाँ मनोरञ्जन कर बुझाएका छन् । माजोङ्ग इन्टरटेन्मेन्टले ९ लाख ९३ हजार ६ सय र बलजी क्यासिनोले १३ लाख ८८ हजार ३६३ रुपैयाँ मनोरञ्ज कर तिरेका हुन् ।
















