Dhulikhel Eco Banner new

नेपाली रुपैयाँ दिनदिनै कमजोर बन्दै, अर्थतन्त्रमा कस्तो असर पर्छ ?

4.33K
shares

काठमाडौं, ११ असोज । निरन्तर रुपमा बढीरहेको अमेरिकी डलरको मूल्यले मंगलबार नयाँ रेकर्ड कायम गरेको छ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विनीमयदर अनुसार १ अमेरिकी डलरको मूल्य १३० रुपैयाँ ९० पैसा पुगेको हो । यो हालसम्मकै सबैभन्दा महंगो हो ।

निरन्तर रुपमा नेपाली रुपैयाँ कमजोर बन्दै गएको अवस्थामा यसले नेपाली अर्थतन्त्रलाई नकारात्मक असर पार्ने अर्थविद् डा.चन्द्रमणी अधिकारी बताउँछन् । ‘नेपाल जस्तो आयातमुखि अर्थतन्त्र भएको मुलुकका लागि अमेरिकी डलरको मूल्य बढ्नु भनेको निकै नकारात्मक प्रभाव पर्नु हो,’ उनले भने । आयातमुखि अर्थतन्त्र भएकाले सामान्य नागरिकसम्म यसको प्रभाव पर्ने डा. अधिकारीको भनाइ छ ।

अमेरिकी डलरको मूल्यमा हुने वृद्धिले नेपालमा सञ्चालित आयोजना देखि भान्सा सम्म नै प्रभाव पर्ने उनले बताए । ‘सबै समान बाहिरबाट डलर तिरेर ल्याउनु पर्ने भएकाले नेपालमा त्यो पनि चाडपर्वको समयमा आम नागरिकमा महंगीको मार बढ्छ,’ अधिकारीले भने । त्यस्तै निर्माणाधिन आयोजना देखि विदेशी राष्ट्रबाट लिएको ऋणको साँवा र ब्याज समेत महंगो पर्ने उनको भनाइ छ ।
आइतबार अमेरिकी डलरको मूल्य १२९ रुपैयाँ ८९ पैसा रहेको थियो । त्यो पनि सो दिनका लागि रेकर्डनै थियो ।

अहिले अमेरिकी फेडेरल रिजर्भले ब्याज बढाएको कारण पनि डलरको भाउमा असर परेको छ भने ताइवानलाई लिएर अमेरिका र चीन बीच बढेको विवादको कारणले पनि डलरको भाउमा असर परेको छ । धेरै देशमा आर्थिक मन्दी आएको कारण पनि डलरको सञ्चिति बढाउदा डलरको मग बढेका छ । यसले भाउ बढाएको हो ।

नेपालमा विदेशबाट आउने रेमिट्यान्स र विदेशी पर्यटकबाट केही रकम बढी आए जस्तो देखिए पनि समग्र रुपमा हेर्दा डलरको मूल्यमा हुने वृद्धिले समग्र अर्थतन्त्रलाई नकारात्मक असर गर्ने अर्थविद् डा. अधिकारीको भनाइ छ । विशेष गरी तल्लो वर्गलाई यसबाट बढी प्रभाव पर्ने उनले बताए ।