Dhulikhel Eco Banner new

दक्षिण अफ्रिकाको सान्त्वना जित

5.19K
shares

काठमाडौं, १९ असोज । घरेलु टोली भारतसँगको टि–२० सिरिजमा दक्षिण अफ्रिकाले सान्त्वना जित निकालेको छ । एक खेल अगावै सिरिज गुमाएको पाहुना टोलीले तेस्रो तथा अन्तिम टी–२० खेलमा भारतलाई ४९ रनले पराजित गरेर सान्त्वना जित निकालेको हो ।

दक्षिण अफ्रिकाले दिएको २ सय २८ रनको लक्ष्य पछ्याएको भारतले १८ ओभर ३ बलमा अलआउट हुँदै १ सय ७८ रन मात्रै बनायो । भारतका दिनेश कार्तिकले ४६ रन जोडे । दीपक चाहरले ३१ तथा ऋषव पन्थले २७ रन बनाए । दक्षिण अफ्रिकाका ड्वाने प्रिटोरिउसले ३ तथा वायन प्रनिल, लुंगी एनजिडी र केशव महाराजले २/२ विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको दक्षिण अफ्रीकाले २० ओभरमा ३ विकेट गुमाएर २ सय २७ रन बनाएको थियो । दक्षिण अफ्रिकाका रिली रस्सोले अविजित १०० रनको शतकीय पारी खेले । क्विन्टन डी ककले ६८ रनको अर्धशतकीय पारी खेले ।

भारतका दीपक चाहर र उमेश यादवले १/१ विकेट लिए । भारतले ३ खेलको श्रृंखला २–१ ले जितेको छ । भारत पहिलो खेलमा ८ विकेटले र दोस्रो खेलमा १६ रनले विजयी भएको थियो । भारत र दक्षिण अफ्रिकाबीच अब तीन एकदिवसीय खेलको सिरिज हुनेछ ।