Dhulikhel Eco Banner new

धनुषा–३ मा सत्ता गठबन्धनबाट रामचन्द्र झा उम्मेदवार बन्ने

5.49K
shares

काठमाडौं, २१ असोज । नेपाली कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधि र लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले छाडेको सिटमा नेकपा एकीकृत समाजवादीका नेता रामचन्द्र झाले टिकट पाउने भएका छन् । साविकमा धनुषा–२ बाट प्रतिनिधि सभामा निर्वाचन लड्दै आएका उनलाई सत्ता गठबन्धनले धनुषा–३ मा उम्मेदवार बनाउने सहमति गरेको हो ।

‘मलाई आज बिहान पनि माधव नेपालजीले धनुषा–३ मा तपाईंको कन्फर्म हो, आज औपचारिक निर्णय गर्न मात्र बाँकी छ भनेर भन्नुभएको हो, ‘सत्ता गठबन्धनले गर्ने निर्णय मैले सहज स्वीकार गर्ने हो,’ झाले भने । झा नेकपा एकीकृत समाजवादीका सचिवालय सदस्य हुन् । कम्युनिस्ट पार्टीका नेताहरूमध्ये समकालीन राजनीतिमा उनी सिनियर नेताका रूपमा चिनिने गर्छन् ।

उनी नेकपा एमालेबाट २०५१ सालमा प्रतिनिधि सभाको निर्वाचनमा निर्वाचित भएका थिए । त्यसपछि २०६४ सालको संविधान सभाको चुनावमा समेत नेकपा एमालेबाट निर्वाचित भएका थिए । संविधान सभामा निर्वाचित भएपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा बनेको सरकारमा उनी स्थानीय विकास मन्त्री समेत बनेका थिए ।

त्यसपछि २०७० सालको निर्वाचनमा उनी नेकपा माओवादी केन्द्रबाट चुनाव लडे पनि पराजित भएका थिए । २०७४ सालको चुनावमा फेरि माओवादीबाट चुनाव लडेका उनी पराजित भएका थिए । नेकपा एमालेबाट राजनीति गरेका झा एमालेको धनुषा जिल्ला सचिव हुँदै केन्द्रीय कमिटीमा पटक–पटक निर्वाचित हुँदै पोलिटब्युरो सदस्य समेत भएका थिए ।

धनुषा–३ मा यसअघि २०७४ सालमा साविक राजपाबाट राजेन्द्र महतो निर्वाचित भएका थिए । नेपाली कांग्रेसका नेता निधिको संसदीय क्षेत्रमा महतो जितेपछि यसपटक उनी समानुपातिकको बन्दसूचीमा सिफारिस भएका छन् । अर्कोतर्फ लोसपा नेता महतो गृहजिल्ला सर्लाही–२ पुगेका छन् ।