Dhulikhel Eco Banner new

दाङमा तीन हजार घर डुबानमा

4.36K
shares

काठमाडौं, २२ असोज । दाङको राप्ती र सहायक नदी तथा बबई खोलामा आएको बाढीले दाङमा झन्डै तीन हजार घर डुबानमा परेका छन् । जिल्ला आपत्कालीन सञ्चालन केन्द्र दाङका अनुसार राप्ती नदी, बबई नदी र अन्य खहरे खोलामा आएको बाढी बस्तीमा पस्दा २ हजार ९५२ घर डुबानमा परेका हुन् ।

घर डुबानमा परेपछि विस्थापित भएका आफन्तको घरमा आश्रय लिएर बसेका छन् । यस्तै तीन दिनदेखि लगातार पानी पर्दा २०३ घर पूर्णरूपमा भत्किएका छन् । झन्डै एक सय जनालाई उद्धार गरेर सुरक्षित ठाउँमा सारिएको छ । सशस्त्र प्रहरी, नेपाल प्रहरी, जनप्रतिनिधि, स्थानीयवासीको सक्रियतामा बाढीमा फसेकाहरूलाई उद्धार गरिएको हो ।

दाङका सबैभन्दा बढी लमही नगरपालिका, राजपुर गाउँपालिका, गढवा गाउँपालिका, राजपुर गाउँपालिका, राप्ती गाउँपालिका पूर्णरूपमा प्रभावित भएका छन् । यस्तै घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका, दंगिशरण गाउँपालिका, बबई गाउँपालिका, शान्तिनगर गाउँपालिकाका धेरैजसो वडा बाढीका कारण प्रभावित भएका छन् ।