रसुवा बाढीपीडितका लागि एनसीसीएस ग्रुपको १० लाख सहयोग
वि.सं.२०८३ भदौ १४ आइतवार १५:५८
shares

काठमाडौं,१४ भदौ । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनसीसीएस ग्रुपले १० लाख रुपैयाँ सहयोग गरेको छ।
एनसीसीएस ग्रुपअन्तर्गतका तीन शैक्षिक संस्थाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा छुट्टाछुट्टै रूपमा उक्त रकम प्रदान गरेका हुन्। नेसनल क्रिएटिभ को–एडु स्कुलले ३ लाख, एनसीसीएस हायर सेकेन्डरी स्कुलले ३ लाख तथा नेसनल कलेज अफ कम्प्युटर स्टडिज (एनसीसीएस)ले ४ लाख रुपैयाँ सहयोग गरेका छन्।
विपद्का कारण रसुवासहित विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति भएपछि प्रभावित परिवारको उद्धार तथा राहतका लागि विभिन्न निकायबाट सहयोग जुटाउने क्रम जारी छ। सोही अभियानमा सामाजिक उत्तरदायित्वअन्तर्गत एनसीसीएस ग्रुपले सहयोग गरेको जनाएको छ।
एनसीसीएस ग्रुपले विगत साढे दुई दशकदेखि नेपालमा सूचना प्रविधि तथा व्यवस्थापन शिक्षाको क्षेत्रमा योगदान दिँदै आएको छ। ‘क्युएए सर्टिफाइड’ शैक्षिक संस्थाका रूपमा रहेको एनसीसीएस त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेज हो।
विद्यार्थीलाई सूचना प्रविधि, व्यवस्थापन तथा व्यावसायिक शिक्षामार्फत बदलिँदो विश्व बजारका चुनौती सामना गर्न सक्ने दक्ष र सिर्जनशील जनशक्तिका रूपमा विकास गर्ने उद्देश्यका साथ एनसीसीएसले विभिन्न शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको छ।
शैक्षिक गतिविधिसँगै सामाजिक उत्तरदायित्वलाई पनि प्राथमिकतामा राख्दै आएको एनसीसीएस ग्रुपले विपद्का बेला प्रभावित समुदायलाई सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।


















