Dhulikhel Eco Banner new

नेपाल इलेक्ट्रिक, पावर, लाइट तथा कन्ज्युमर इलेक्ट्रोनिक्स अन्तर्राष्ट्रिय प्रदर्शनी स्थगित

533
shares

काठमाडौं, १४ भदौ । मिडिया स्पेस सोलुसन्स प्रा.लि., एक्जिबिसन एन्ड ट्रेड सर्भिसेस इन्डिया प्रा.लि. तथा फ्युचरएक्स ट्रेड फेयर एन्ड इभेन्ट्स प्रा.लि.को संयुक्त आयोजनामा आगामी २०८३ साल भदौ १९ देखि २१ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने तय भएको ‘नेपाल इलेक्ट्रिक, पावर, लाइट तथा कन्ज्युमर इलेक्ट्रोनिक्स एन्ड होम अप्लायन्सेस अन्तर्राष्ट्रिय प्रदर्शनी’ हाललाई स्थगित गरिएको छ।

हालै नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोका कारण देशभर अत्यन्तै कठिन र दुःखद परिस्थिति सिर्जना भएको छ। प्राकृतिक विपत्तिका कारण ठूलो जनधनको क्षति हुनुका साथै नागरिकहरूले अपार कष्ट भोग्नुपरेको अवस्थालाई मध्यनजर गर्दै यस्तो संवेदनशील समयमा व्यावसायिक प्रदर्शनी सञ्चालन गर्नु मानवीय दृष्टिकोणले उपयुक्त नदेखिएको आयोजकले जनाएको छ।

देश राष्ट्रिय शोक तथा पुनर्निर्माणको संवेदनशील चरणमा रहेको अवस्थामा नेपाल सरकारद्वारा जारी सुरक्षा सचेतना तथा भारत र चीन सरकारद्वारा आफ्ना नागरिकका लागि जारी गरिएको यात्रा परामर्श लाई समेत ध्यानमा राख्दै आयोजकले प्रदर्शनी तत्कालका लागि स्थगित गर्ने निर्णय गरेको हो।

प्रदर्शनीमा सहभागी हुने प्रदर्शक, सहभागीलगायत आगन्तुकहरूको सुरक्षा तथा यात्राको सहजता आयोजकको पहिलो प्राथमिकता भएकाले वर्तमान परिस्थितिमा प्रदर्शनी सञ्चालन नगर्ने निर्णय गरिएको आयोजकले स्पष्ट पारेको छ।

देशको अवस्था सामान्य भई यातायात तथा पूर्वाधारहरू सुचारु भएपछि प्रदर्शनीको नयाँ मिति सार्वजनिक रूपमा घोषणा गरिने आयोजकले जनाएको छ।

प्राकृतिक विपत्तिका कारण सिर्जिएको असहज परिस्थितिप्रति आयोजकले सम्पूर्ण सहभागी, प्रदर्शक तथा सरोकारवालाहरूसँग क्षमायाचना गर्दै यस कठिन समयमा सबैको सद्भाव, सहयोग र समझदारीका लागि आभार व्यक्त गरेको छ।