पेट्रोलियम पदार्थको विकल्प बन्न सक्छ ग्रीन हाइड्रोजन : अर्थमन्त्री
वि.सं.२०७९ असोज २४ सोमवार १६:३१
shares

काठमाडौं, २४ असोज । अर्थमन्त्री जनार्दन शर्माले जलवायु परिवर्तनका कारण विश्वव्यापीरुपमा उत्पन्न सङ्कटको समाधान गर्दै कार्बन उत्सर्जनलाई न्यूनीकरणका लागि ग्रीन हाइड्रोजन नै उत्तम विकल्प भएको बताएका छन । विश्वका ठूला र औद्योगिक राष्ट्रले उत्पादन गरेको ग्रीन हाउस ग्यासका कारण नेपालजस्ता पर्वतीय मुलुक सङ्कटमा परेको उल्लेख गर्दै उहाँले जलस्रोतको उपयोग गरेर ग्रीन हाइड्रोजन उत्पादन गर्न सकिने बताए ।
आजदेखि यहाँ सुरु भएको ग्रीन हाइड्रोजन समिटलाई सम्बोधन गर्दै उनले जलवायु परिवर्तनका कारण परेको प्रभाव न्यूनीकरणका लागि पनि अब विकल्पको खोजी भएको बताए । अर्थमन्त्रीले बिजुली बिक्री भएन भनेर अब चिन्ता गर्नु नपर्ने अवस्थामा पुगेको उल्लेख गर्दै त्यसैको उपयोग गरेर देशभित्रै थप अवसरको खोजी गर्न सकिने बताए ।
आफूले चालु आर्थिक वर्षको बजेटमा नै हाइड्रोजन र एमोनियाका बारेमा उल्लेख गरेको उनले जानकारी दिए । उनले कोइलाको स्थानमा ग्रीन हाइड्रोजनको प्रयोग गर्न सकिने र यसमा थप लगानी गर्दै काम प्रारम्भ गर्ने अवसर आएको स्पष्ट पारे ।



















